

सुलभराज बराल
‘अल्लाहको देन’ भन्दै बच्चा धमाधम पाउन त हुँदैन नि!’ मोरङ सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएकी अफ्सरा बेगमलाई डाक्टरले भन्दै थिए ।
बेगमसँगै अस्पताल आएका उनका सोहर (श्रीमान्) मुसुक्क मुस्कुराए । लाजले भूतुक्कै बनेकी बेगमले भने डाक्टरसँग आँखा जुधाउन सकिनन् । बेगम उमेरले १९ वर्ष पुगिन् । १४ वर्षकै उमेरमा परिवारले अन्माइदिएपछि बर्सेनिजस्तै सन्तान उत्पादन गरिरहेकी छन्, बेगम ।
सानो जिउडाल परेकी बेगमका तीन लालाबाला छन् । आधारभूत शिक्षासम्म हासिल गर्न सकेकी बेगमले ‘दुई सन्तान, ईश्वरको बरदान’ भन्ने पढेकी थिइन् । तर, उनका अब्बा (बुबा) र अम्मी (आमा) ले बेगमलाई ‘बच्चे अल्लाहका देन है!’ भन्ने सिकाए ।
परम्परागत प्रवृत्तिलाई पछाडि धकेलेर भविष्य निर्माण गर्ने सोच बोकेकी बेगम तीन सन्तानकी आमा बनिसकिन् । बेगम र उनका सोहरबीचको प्रेमको चौथो उपहार पेटमा खेल्न थालेजस्तो आभास पाइन्, उनले ।
डरैडरमा एकदिन बेगमले सोहरलाई भनिन्, ‘म दिनदिनै कमजोर भइरहेकी छु, यो सन्तान जन्माउन सक्तिनँ कि! बरु सुरक्षित गर्भपतनबारे बुझ्न अस्पताल जाऔं न ।’
सुरुमा त उनका सोहर मानेनन् । ‘सुरुमा त उहाँलाई फकाउनै सकेकी थिइनँ, तर गर्भमा मेरो अधिकार हुन्छ भनेर रिसाइदिएँ,’ उनले भनिन्, ‘परिवारमा यसबारे खुलासा नगर्ने शर्तमा उहाँ राजी हुनुभयो । फेरि, डाक्टरले सुत्केरी हुँदा मेरो स्वास्थ्य झन् बिग्रन सक्ने बताउँदा उहाँ झसङ्ग पनि हुनुभयो । अब, डाक्टरले चेकजाँच गरेर मिति तय गरिदिनुभएको छ । सोहीअनुरूप गर्भपतन गराउँछु ।’
परिवर्तित नाम ‘बेगम’ त प्रतिनिधिमुलक पात्रमात्रै हुन्, सुरक्षित गर्भपतन उनीजस्ता धेरै युवापिँढीका लागि राहत बनेको छ । हिंसामा परेर होस् वा झुक्किएर बसेको होस्, अनिच्छित गर्भको अन्त्य गर्न सुरक्षित गर्भपतन सेवा लिन पाउँदा युवापुस्तामा खुसी छाएको छ ।
पछिल्लो तीन वर्षमा कोसी प्रदेशमा २० वर्षमुनिका तीन हजारभन्दा बढी गर्भिणीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य निर्देशानलयका अनुसार २०७७ साउनयता प्रदेशभरि तीन हजार सात जनाले सूचीकृत स्वास्थ्य संस्था पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन गराएका हुन् ।
दुई हजार तीन सय २६ जनाले औषधिको माध्यमबाट गर्भपतन गराएका छन् भने बाँकी ६ सय ८१ जनाले शल्यक्रिया गराएर सुरक्षित रूपमा गर्भपतन गराएका हुन् । तथापि, गर्भपतन गराउने २० वर्षमुनिका गर्भवतीको सङ्ख्या बर्सेनि घट्दो रहेको निर्देशनालयकी सूचना अधिकारी तुलसा अधिकारीले बताइन् ।
‘प्रजनन स्वास्थ्यप्रति मानिसको चेतनाको स्तर बढ्दो छ भन्न पर्ला, गर्भपतन गराउने २० वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या घट्दो देखिएको छ,’ उनले भनिन्, ‘तर, अन्जानबस बसेको गर्भपतन गराउने जति छन्, उनीहरू सबैले राहत महसुस गरेका छन् ।’
समाज शिक्षित भइसकेकोले धेरै व्यक्तिहरू आफ्नो स्वास्थ्यप्रति सचेत भएको उल्लेख गर्दै उनले परिवार नियोजनका साधन र सुरक्षित गर्भपतनप्रति मानिसको चेतनामा परिवर्तन भएको बताइन् । त्यसबाहेक आफूहरूले पनि असुरक्षित गर्भपतनलाई जरैदेनि निर्मुल पार्नका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउँदै उनले विशेषगरीः किशोर–किशोरीलाई यसबारे सचेत बनाउन आम–सञ्चारमाध्यको सहायतामा सचेतनामुलक कार्यक्रम ल्याएको पनि सुनाइन् ।
यस्तै, कोसी प्रदेश, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले प्रदेशभरि सुरक्षित गर्भपतन गर्ने सेवाग्राही घटेको देखिए पनि अझै नजिता अपेक्षाकृत नभएको बताए । असुरक्षित रूपमा हुने गर्भपतनलाई जरैदेखि निर्मुल पार्ने अभियानमा आफूहरू रहेको सुनाउँदै बस्नेतले त्यसो गर्न सकिएमा मात्र स्वास्थ्य क्षेत्रले फट्को मार्ने बताए ।
सुरक्षित गर्भपतन सेवामा तीव्रता दिइरहँदा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि अपेक्षाकृत ढङ्गले घट्न नसकेको उनको स्वीकारोक्ति छ । असुरक्षित तबरले गर्भपतन गराएर स्वास्थ्य समस्या भएपछि अस्पताल आउनेगरेको विवरणले आफूहरू दुःखी भएको बस्नेतको भनाइ छ ।
यस्तो अवस्थामा गराउन पाइन्छ सुरक्षित गर्भपतन
गर्भवती र बच्चाका स्वास्थ्यमा प्रतिकूल असर परेमा, बच्चा विकलाङ्ग जन्मने अवस्था आइपरेमा, बलात्कारलगायत यौनजन्य हिंसाबाट प्रभावित र अनिच्छित गर्भलाई सूचीकृत स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराउन सकिन्छ । साथै, थप सन्तानको इच्छा नभएमा, सन्तानको चाहना नभएमा, परिवार सुरु गर्ने उपयुक्त समय नलागेमा पनि सुरक्षित गर्भपतन अवलम्बन गर्न सकिन्छ ।
तथापि, गर्भपतन अन्तिम विकल्प हो । त्यो अवस्था आउन नदिनका लागि सुरक्षित र संयमित यौन सम्बन्ध बनाउनु राम्रो हो । अनि, परिवार व्यवस्थापनका साधन प्रयोग गर्दा अति उत्तम हो । यस्ता साधन सरकारले निःशुल्क दिन्छ ।
त्यसबारेमा जानकारी भएमा अनिच्छित गर्भ नै बस्दैन । महिला बच्चा जन्माउने साधन मात्रै होइनन्, उनीहरूको पनि जीवन हुन्छ । सुरक्षित नै भए पनि गर्भपतनलाई अन्तिम विकल्पको रूपमा प्रयोग गर्नुपर्छ ।
अनिच्छित गर्भले खुसीभन्दा बढी तनाव दिन्छ। यस्तो अवस्थामा गर्भपतन एक मात्र उचित विकल्प हुन पुग्छ। तर, अज्ञानताका कारण वा लापरबाहीका कारण हुने कतिपय असुरक्षित गर्भपतन मृत्युमा बदलिन सक्छ।
महिलाको शरीरलाई हानि–नोक्सानी पुग्ने, विकलाङ्ग भएका बच्चा जन्मन सक्ने, हाडनाता करणी, बलात्कारको घटनालगायतका विविध अवस्थामा महिलालाई गर्भपतन गर्ने अधिकार स्थापित गरिएको हो । नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी नियमावली ल्याएर प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको संरक्षण गरिएको छ ।
सो ऐनअन्तर्गत गर्भवतीको मन्जुरीले १२ हप्तासम्मको गर्भको अन्त्य गर्न सकिन्छ । गर्भवती र बच्चाका स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएमा वा बच्चा विकलाङ्ग जन्मने अवस्था आइपर्ने भएमा गर्भवतीकै मन्जुरीमा २८ हप्तासम्मको गर्भ पतन गर्न सकिन्छ ।
जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा गर्भवतीको मन्जुरीले २८ हप्तासम्म, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिका अन्य निको नहुने रोग लागेमा गर्भवतीकै मन्जुरीले गर्भपतन गर्न सकिन्छ ।
यस्तै, भ्रूणमा कमी–कमजोरी भई बच्चा विकलाङ्ग जन्मने अवस्था आइपरेमा २८ हप्तासम्मको गर्भपतन गर्भवती महिलाको मन्जुरीमा गर्न सकिन्छ ।
इजाजतप्राप्त स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले गर्भवतीले लिएको गर्भपतनको सेवाबारे राखिएको अभिलेख, सूचना र कागजपत्र गोप्य रूपमा राख्नुपर्ने कानुनी व्यवस्था भएका कारण कुनै सङ्कोच नमानी गर्भपतन गर्न सकिन्छ ।
निश्चित अवधिभित्रको गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । गर्भपतनका केही विधि छन्, मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी (एमटिपी) र म्यानुअल भ्याक्युम एस्पाइरेसन (एमभिए) विधि। औषधिका माध्यमबाट १० हप्तासम्मको गर्भको अन्त्य गर्न सकिन्छ भने एमभिए विधिबाट २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ ।
एमभिए विधिलाई ‘सर्किजल एबर्सन’ पनि भनिन्छ । पाठेघरभित्र सानो औजार पठाएर भ्रूण निकाल्ने यो विधि शतप्रतिशत प्रभावकारी हुन्छ । औषधि सेवनबाट गरिने गर्भपतन भने ९८ प्रतिशत प्रभावकारी हुन सक्छ । सूचीकृत स्वास्थ्य संस्था पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीसँग परामर्श लिई आफूलाई अनुकूल हुने गर्भपतन सेवा रोज्न सकिन्छ ।
गर्भपतन गर्नुअघि एन्टिबाइटिक औषधिको सेवन गर्नुपर्छ । गरिसकेपछि पनि आफ्नो स्वास्थ्यको हेरचार राम्रोसँग गर्नुपर्छ । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाकवाक हुने तथा महिनावारीको जस्तो वा केही रगत बग्ने हुन सक्छ ।
यस्ता असरहरू सामान्यता आफैँ हराएर जान्छ र स्वास्थ्य परामर्शको आवश्यकता नपर्न पनि सक्छ । असुरक्षित गर्भपतनको तुलनामा सुरक्षित गर्भपतनमा कम रक्तस्राव हुन्छ । तर, लामो समय रक्तस्राव भएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ ।
असुरक्षित गर्भपतन गराउँदा आङ खस्नेदेखि बाँझोपनलगायतका दीर्घकालीन समस्या निम्तिन सक्छन्। तर सुरक्षित गर्भपतन गराएमा यस्ता समस्याहरू आउँदैनन् ।