jQuery(document).ready(function($){ //
});

काठमाडौं, साउन २

वर्ष २०२१ मा दिइने प्रतिष्ठित फुटबल अवार्ड बालोन डिओर कसले जित्ला भन्नेमा सर्वत्र चासो बढेको छ । गत सिजनको अन्त्यपछि युरो कप र कोपा अमेरिका फुटबल सकिएसँगै यसको चर्चा र अड्कलबाजी झनै बढेको छ । युरो कप विजेता र कोपा विजेताको टुंगो लागेपछि यस वर्ष यो अवार्डमा को–को दौडमा छन् भन्ने दृश्य पनि देखिन थालेको छ । अब दाबेदारहरूको मोटामोटी दृश्य बाहिर आउन थालिसकेको छ । कोपा अमेरिका जितेपछि अर्जेन्टिनाका लिओनल मेस्सी र युरो कप जितेपछि इटालीका जर्जिन्हो बालोन डिओर अवार्डको दौडमा एकाएक अघि आएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

साथमा, जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की त गत सिजन र गत वर्षबाटै दौडमा छँदैछन् । मेस्सीले अर्जेन्टिनालाई २८ वर्षपछि र आफूले करिअरको पहिलो उपाधि जित्नेक्रममा ब्राजिलमा उच्च प्रदर्शन गरेका थिए । उनले कोपामा ७ खेलबाट ४ गोल र ५ गोलमा असिस्ट गर्दै प्लेयर अफ् द टुर्नामेन्ट अवार्ड र गोल्डेन बुट पनि जितेका थिए । कोपामा गरेको प्रदर्शन र उपाधि सफलताले मेस्सीलाई यस वर्ष पनि बालोन डिओर अवार्डमा प्रमुख दाबेदार बनाइदिएको छ । तर, अझेै पनि नयाँ सिजनको सुरुआती ४ महिनाको प्रदर्शन हेर्नै बाँकी छ ।

ताजा अवस्थामा यसपटक मेस्सीलाई लेवान्डोस्कीसँग गत सिजन चेल्सीबाट च्याम्पियन्स लिग र इटालीबाट युरो कप जितेका जर्जिन्होले कडा टक्कर दिनेछन् । साथमा, जर्मन क्लब बार्यन मयुनिख तथा पोल्यान्डका रोवर्ट लेवान्डोस्की चर्को दबाब पनि छ । जर्जिन्हो युरोपका दुई ठूला उपाधि जितेका आधारमा बलोन डिओर बनेका दाबेदार छन् भने लेवान्डोस्की गत सिजन बार्यनमा शानदार प्रदर्शन गरेका आधारमा दाबेदार छन् । युरो कप र कोपा अमेरिकालाई छाडेर गत सिजनको प्रदर्शनलाई मात्रै तुलना गर्ने हो भने त लेवान्डोस्कीको छेउछाउमा कोही पनि छैन ।

तर, कोपा र युरो कपको नतिजापछि बालोन डिओर दौडमा ठूलो परिवर्तन भएको छ । यदि युरो कप फ्रान्स, बेल्जियम र पोर्चुगलमध्ये कुनै एक टिमले जितेको भए बालोन डिओरको कहानी नै अर्कै हुनेथियो । फ्रान्सले जितेको अवस्थामा एन्गोलो कान्टे र केलियन एमाप्पे यसको दौडमा सबैभन्दा अगाडि हुन्थे । बेल्यिममले जितेको अवस्थामा नम्बर वान दाबेदार केभिन डे ब्रुयाने हुन्थे । पोर्चुगलले जितेको भए क्रिस्टियानो रोनाल्डो नम्बर वान दाबेदार हुन्थे ।

तर, बालोन डिओर दौडमा रहेका मुख्य सबै खेलाडीको टिम युरो कपमा असफल भएपछि दाबेदारीको पल्ला अन्य खेलाडीको पोल्टामा पर्न गएको हो । यसको सबैभन्दा ठूलो फाइदा मेस्सीलाई पुग्ने भएको छ । बेल्जियम, फ्रान्स र बेल्जियम मध्ये कुनै एकले युरो कप जित्न नसक्नु र मेस्सीले अर्जेन्टिनाबाट कोपा जित्दा मेस्सीलाई सातौं बालोन डिओर जित्ने ढोका खुला भएको छ । यदि फ्रान्स, पोर्चुगल र बेल्जियममध्ये कुनै एक देशले युरो कप जितेको भए मेस्सीले कोपा अमेरिका जितिकन पनि खास फरक पर्दैनथियो । किनभने, मेस्सीको गत सिजन बार्सिलोनामा निकै सामान्य रहेको थियो ।

यस वर्ष अन्य प्रतिस्पर्धी बलियो नभइदिँदा मेस्सीलाई सातौं बालोन डिओर जित्ने ढोका खुलेको साँचो हो । कोपामा मेस्सीले उच्च प्रदर्शन गरे पनि गत सिजन बार्सिलोनामा उनका लागि समग्रमा निकै सामान्य बनेको थियो । उनी ३० गोलका साथ ला लिगाको सर्वाधिक गोलकर्ता त बनेका थिए । तर, उनले गरेका सबैजसो गोल र असिस्ट भने साना र पुछारतिरका टिमविरुद्ध थिए । उनका ३० लिग गोलमध्ये २३ गोल त टप–१० भन्दा मुनिका टिमविरुद्ध थिए । उनका धेरैजसो असिस्ट पनि टप–१५ भन्दा मुनिका टिमविरुद्ध थिए ।

ला लिगा र च्याम्पियन्स लिगका सबै ठूला खेलमा बार्सिलोना पराजित हुँदा मेस्सीको प्रदर्शन पनि बिर्सनलायक थियो, उनी कुनै ठूलो खेलमा चलेनन् । च्याम्पियन्स लिगमा युभेन्टस, पिएसजीसँगका लज्जास्पद हार मेस्सीका लागि खराब नतिजा थिए । त्यसैगरी, ला लिगामा दुवै इएल क्लासिकोमा लज्जास्पद अर्को पीडादायी समय थियो । अन्य बलिया टोलीसँगका खेल पनि बार्सिलोनाका लागि उस्तै खराब रहेको थियो । गत सिजन बार्सिलोनाले सबैभन्दा कम महत्त्वको कोपा डेल रे कप जित्दा च्याम्पियन्स लिग र ला लिगा दुवैमा निकै खराब नतिजा भोगेको थियो ।

तर, कोपाको उपाधिले मेस्सीको स्थितिमा एकाएक छलाङ लगाइदियो । ७ खेलबाट ४ गोल र ५ असिस्ट अनि उपाधिले उनलाई बालोन डिओर दौडमा सबैभन्दा अगाडि ल्याइदिएको छ । हालकै अवस्थामा उनलाई पछ्याउने प्रतिस्पर्धी निकै कमजोर छन् । तर, नयाँ सिजनको सुरुआती समयले हालको स्थितिमा ठूलो परिवर्तन ल्याउन सक्छ । नयाँ सिजनमा उनलाई अझै पनि यदि कसैले कडा टक्कर दिन सक्छ भने उनी बार्यनका लेवान्डोस्की नै हुन् । यदि नयाँ सिजनको सुरुआती ४ महिनामा मेस्सीले सामान्य प्रदर्शन मात्रै गरे वा खराब रह्यो भने र लेवान्डोस्की उच्च लयमा अघि बढे भने लेवान्डास्कीले मेस्सीको पोल्टाबाट सातौं बालोन डिओर खोस्न सक्ने प्रबल सम्भावना छ । नत्र वर्ष २०२१ मा पनि अरूले ताली पड्काउने हो, मेस्सीले सातौं बालोन डिओर जित्ने हो ।

बालोन डिओर अवार्डको ताजा ‘पावर र्‍याङकिङ’ यस्तो छ–

  1. लिओनल मेस्सी– ३३ गोल, १४ असिस्ट (कोपा अमेरिका र कोपा डेल रे विजेता साथमा ला लिगा सर्वाधिक गोलकर्ता, कोपा अमेरिकाको बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ता)
  2. रोवर्ट लेवान्डोस्की – ३४ गोल, ४ असिस्ट (बुन्डेसलिगा र क्लब विश्वकप उपाधि, बन्डेसलिगा गोल्डेन बुट र युरोपियन गोल्डेन बुट विजेता)
  3. जर्जिन्हो – ५ गोल, २ असिस्ट (युरो कप र च्याम्पियन्स लिग विजेता)
  4. केभिन डे ब्रुयाने – १० गोल, १० असिस्ट (प्रिमियर लिग र काराबाओ कप विजेता)
  5. एन्गोलो कान्टे – ० गोल, ० असिस्ट (च्याम्पियन्स लिग विजेता)
  6. रोमेलु लुकाकु– २२ गोल, ७ असिस्ट (सिरी ए विजेता)
  7. जियानलुइजी डोनारुम्मा – १७ क्लिन सिट (युरो कप विजेता र हिरो अफ् द टुर्नामेन्ट अवार्ड)
  8. करिम बेन्जेमा– २२ गोल, ५ असिस्ट
  9. केलियन एमबाप्पे – २९ गोल, ७ असिस्ट (फ्रेन्च कप र सुपर कप विजेता)
  10. क्रिस्टियानो रोनाल्डो – २७ गोल, ४ असिस्ट (कोपा इटालिया र सुपर कप, सिरी ए गोल्डेन बुट र युरो कप गोल्डेन बुट विजेता)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय