विराटनगर, भाद्र ३० गते श्री दुबेली रेग्मी कुलपूजा सेवा समिति विराटनगरको वार्षिक साधारण सभा भाद्र २९, २०८१ मा अध्यक्ष गोविन्द प्रसाद शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा पं. थिर प्रसाद रेग्मी प्रमुख अतिथि रहेका थिए भने सचिव माधव प्रसाद रेग्मीले सभाको सञ्चालन गरेका थिए। सभामा अध्यक्ष, सचिव र कोषाध्यक्षका वार्षिक प्रतिवेदनहरू पारित गरिनुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू लिइएको छ। आगामी फाल्गुण २ र ३ गते विराटनगरमा दुबेली रेग्मीहरुद्धारा देवाली (कुल पूजा) सम्पन्न गर्ने निर्णय सभाले गरेको छ। साथै, कुल देवता राखिएको भवन मर्मत संभार गर्ने र पूजा स्थलमा टिनको ट्रस निर्माण गर्ने योजनामा पनि समितिले सहमति जनाएको छ। इन्जिनियर विजय रेग्मीलाई ट्रस निर्माणको अनुमानित लागतसहितको विवरण तयार गर्न जिम्मेवारी दिइएको छ। निर्माण तथा मर्मत कार्यका लागि संयोजक लक्ष्मीप्रसाद रेग्मीको नेतृत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ। सभाले १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जसमा गोविन्द प्रसाद अध्यक्ष, प्रेमकुमारी र शेषराज उपाध्यक्ष, माधव प्रसाद सचिव, जीवनाथ (नानीबाबु) कोषाध्यक्ष, रुपक सहसचिव र अन्य सदस्यहरूमा महेश (मित्रलाल), पवन, शर्मीला, प्रेमकुमार, वासुकीराज, चुडामणि, जीवमाया, अञ्जु र कल्पना रहेका छन्। सभामा संघीय लोक सभा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र कुलका मूल धामी/पुजारी दीपराज रेग्मीले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए। सभामा ठुलो संख्यामा आजीवन सदस्यहरू, सल्लाहकारहरू तथा साधारण सदस्यहरूको उपस्थिति रहेको थियो। अध्यक्ष गोविन्द प्रसादले आफ्ना सम्बोधनमा पारिवारिक संस्थालाई निरन्तरता दिन समितिका प्रयासहरू जारी रहेको र भविष्यमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रम मध्यान्ह ११ बजे सुरु भएर ४ बजे सम्पन्न भएको थियो।






