
दमक, झापा — १२ वर्षीय प्रतिभाशाली बाल गायक सोहन बराईलीले चर्चित गायन रियालिटी शो Voice of Kids Nepal को ब्लाइन्ड अडिसनमा चारओटै कोचहरूको कुर्सी घुमाउँदै दर्शक र निर्णायकहरूको मन जितेका छन्। उनले आफ्नो सशक्त स्वर र आत्मविश्वासपूर्ण प्रस्तुतिबाट स्टेजमा उपस्थित सबैलाई नाच्न बाध्य बनाएका थिए। सोहन हाल एभरेस्ट बोर्डिङ स्कूल, दमकमा अध्ययनरत छन् र उनी अनुराग कला केन्द्र, दमकमा संगीत शिक्षक सिधान्त खड्काबाट संगीत प्रशिक्षण लिइरहेका छन्। उनको सुरिलो स्वर, तालमय प्रस्तुति र उमेरअनुसारको परिपक्वता देखेर कोचहरू चकित परे। सोहनको प्रस्तुति पछि कोचहरूले उनलाई भविष्यको स्टारको संज्ञा दिएका छन्। झापाली प्रतिभा फेरि एकपटक राष्ट्रिय मञ्चमा चम्कन थालेको छ।