jQuery(document).ready(function($){ //
});

काठमाडौंबाट पश्चिम रकुमतर्फ गइरहेको ना.५ख २७१३ नम्बरको बस बुधबार बिहान पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसमा सवार पश्चिम रुकुम र सल्यानका ४९ यात्रु घाइते भएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पश्चिम नवलपरासीका एसपी अजय केसीका अनुसार मृत्यु हुनेमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सिस्ने गाउँपालिका– ४ का ३६ वर्षीय धनराज घर्ती, बाँफीकोट गाउँपालिका– ५ की देवी केसी र मुसिकोट नगरपालिका– १ का २१ वर्षीय गोपाल ओली छन् । सबैको घटनास्थलमै मृत्यु भएको हो ।

कोरोना महामारीमा उपत्यकामा अलपत्र परेका ५८ यात्रु बोकेको बस मंगलबार बेलुका काठमाडौंबाट हिँडेको थियो । एसपी केसीका अनुसार गम्भीर घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ । ब्रेक फेल भएपछि बस दाउन्नेमा सडकमा एक सय ५० मिटर तल खसेको उनले बताए ।

दुर्घटनामा ज्यान गुमाएकी केसीले कोरोना संक्रमणबाट २ जेठमा आमा र ४ जेठमा बुबा गुमाएकी थिइन् । काठमाडौंमा रहेकी देवी निषेधाज्ञाका कारण घर गएर बुबाआमाको अन्त्येष्टिमा समेत सामेल हुन पाएकी थिइनन् । मंगलबार बेलुकी काठमाडौंबाट रुकुम पश्चिमका लागि एउटा बस जान लागेको उनले थाहा पाएपछि घर हिँडेकी थिइन् । तर, बाटोमै उनले पनि ज्यान गुमाइन् ।

बाँफीकोटकी देवीकी छिमेकी बिउझना पुन देवकोटालाई यो सपनाजस्तो लागेको छ । पटकपटकको कोसिसपछि मंगलबार साँझ देवी काठमाडौंबाट हिँडेको उनलाई थाहा थियो । ‘२ र ४ गते आमाबुबा बितेपछि नै उनी घर फर्कन खोजेकी थिइन्, तर आउने साधन नहुँदा सकेकी थिइनन्,’ बिउझनाले भनिन्, ‘मंगलबार काठमाडौंबाट हिँडेको सुनेकी थिएँ, बीचमै अकल्पनीय दुर्घटना भएछ ।’

१६ वैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि उनका थुप्रै साथी त्यसैवेला गाउँ फर्किएका थिए, तर उनी फर्किनन् । काठमाडौंमा कोरोनाको संक्रमण डढेलोझैँ फैलियो, मृतकको संख्या त्यसैगरी बढ्यो । कोरोनाबाट उनले आफूलाई जोगाएरै राखेकी थिइन्, तर दुर्घटनाबाट जोगिन सकिनन् । तीन दिनको अवधिमा केसी परिवारले तीन सदस्य गुमाएको छ । बाँफीकोट– ५ शोकमा डुबेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय