नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकोमा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन् । उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छन् ।
प्रधानमन्त्री देउवालाई पठाउनु भएको बधाई सन्देशमा बङ्गलादेशी प्रधानमन्त्रीले संसद्मा श्री देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले गरेको उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताइन्। निकटको छिमेकीको नाताले बङ्गलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छन् ।
बङ्गलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गरेकी छन् ।
पचास वर्षअघि बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला नेपाली काङ्ग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने उनले सन्देशमा उल्लेख गरेकी छन् । प्रधानमन्त्री देउवालाई उनले उपयुक्त समयमा यथासक्य चाँडो बङ्गलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गरेकी छन् । प्रधानमन्त्री देउवाको सुख, सुस्वास्थ्य र सफलताका साथै नेपाली जनताको शान्ति, प्रगति र समृद्धिको कामना बङ्गलादेशका प्रधानमन्त्रीले गरेकी छन् ।






