दमक, ११ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले दुबै पक्षलाई आयोगमा बोलाएको छ।
आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बोलाएर सनाखत गराउन लागेको हो । आयोगले उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई आज बिहान ११ः०० बजे बोलाएर सनाखत गराउन लागेको हो ।
जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । तीमध्ये आफूहरुको पक्षमा ३३ सदस्य रहेको यादव पक्षको दाबी छ ।
निर्वाचन आयोगमा २०७७ असार २४ गते दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद भइरहेको छ ।
आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो। यद्यपि सर्वोच्च अदालतले ठाकुर पक्षको माग बमोजिम आइतबार अन्तरिम आदेश दिन अस्विकार गरेको छ।






