दमक, ११ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरू हटाउने भएको छ । स्रोतका अनुसार पहिलो चरणमा तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्नेगरी तयारी गरिएको छ ।
पहिले देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर केपी ओली सरकारले नयाँ प्रमुख नियुक्त गरेको थियो । आजै तीन प्रदेश प्रमुख खारेज गरेर नयाँ नियुक्त गर्ने बताइएको छ ।
पहिलो चरणमा एमाले अध्यक्ष ओलीले नियुक्ति गरेका लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावद, प्रदेश २ का राजेश झा र गण्डकीका सीताकुमार पौडेललाई तत्काल हटाउने तयारी गरिएको हो । स्रोतका अनुसार उनीहरुलाई हटाएर नियुक्त गरिनेहरूको पनि नाम तयार भएको छ ।
प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आजैको बैठकले यसबारे निर्णय लिने बताइएको छ । ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाउने तयारी सरकार बनेलगत्तै बनेको थियो।






