दमक , १८ साउन । युगद्रष्टा डा• निर्मलमणि अधिकारीबाट अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशिला चतुष्टय, मौलिक शिक्षा प्रणाली, सहृदयता अर्थतन्त्र आदिलाई मार्गनिर्देशक मान्दै २०७६ ,सालमा स्थापना भएको मौलिक जरोकिलो पार्टीले चुनावचिह्न प्राप्त गरेको छ । केन्द्रीय महासचिव लिला बहादुर बनियाँले जानकारी गराउनु भए बमोजिम निर्वाचन प्रयोजनका लागि मौलिक जरोकिलो पार्टीले “कम्प्युटर” चुनावचिह्न प्राप्त गरेको हो । चुनावचिह्न प्राप्ति पश्चात मौलिक जरोकिलो पार्टी १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले सम्पूर्ण १ नं प्रदेशबासी सहृदयीजनहरूलाई सम्वोधन गर्दै ” पराई प्रतिमानमा आधारित कपुतन्त्रको समूल अन्त्य गर्दै मौलिक प्रतिमानमा आधारित रहेर नेपालको समग्र विकास सहित वैज्ञानिक सत्ययुग स्थापनाका लागि मौलिक जरोकिलो पार्टीको स्थापना भएको बताउनु भयो । प्रदेश उपाध्यक्ष राजेश यादवले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, अवको निकास र विकासको लागि मौलिक जरोकिलो पार्टी मात्र मूलधारको शक्ति भएकोले सम्पूर्ण नेपालीहरू आवद्ध भइ राष्ट्रिय हितमा समर्पित रहनु आजको अपरिहार्यता भएको छ । यसै गरि केन्द्रीय सङ्गठन बिभाग सदस्य सत्येन्द्र आर्य र प्रदेश सङ्गठन बिभाग संयोजक एवम् प्रदेश सचिव राजकुमार दाहालले सङ्गठनको अवस्था बारे प्रकाश पार्नु भएको थियो ।
प्रदेश सचिव रोमादेवी निरौलाले नेपाली महिलाहरूलाई अनुसन्धान, उद्यमशिलता, रोजगारी र व्यक्तित्व बिकासका माध्यमबाट मूलधारमा समन्वित गर्दै अघि बढ्ने पार्टीको नीति रहेको बताउनु भयो । प्रदेश महासचिव अर्जुन कुमार भट्टराईले नेपाललाई विश्वको केन्द्र बनाउने उद्देश्य बोकेर हिडेको मौलिक जरोकिलो पार्टीलाई कम्प्युटर चिह्नमा मत दिएर विजयी बनाउन सम्पूर्ण नेपालीजनहरूलाई आह्वान गर्नुभयो । मौलिक जरोकिलो पार्टीले चुनावचिह्नको बारेमा जनमानसमा जानकारी गराउने उद्देश्यले प्रविधि मार्फत एक कार्यक्रमको आयोजना गरेको थियो । सहभागिहरूले पनि नेपालको गौरव, विशेषता, मौलिकता, ज्ञान परम्परा एवम् राष्ट्रिय चरित्रसहितको पार्टी आवश्यक रहेको अवस्थामा त्यो कमि पुरा गर्न विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई आधारशिला चतुष्टयको रूपमा आत्मसात गर्दै नेपाल केन्द्रित दृष्टिकोण बोकेर अघि बढेको मौलिक जरोकिलो पार्टी नै एकमात्र शक्ति बनाउनु पर्नेमा जोड दिनुभयो ।







