दमक , २१ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको गल्ती, कमजोरीहरु जनता समक्ष राख्न भन्दै जनता समाजवादी पार्टी नेपालकै अध्यक्षका हैसियतमा मधेस पस्ने तयारी गरेका छन् ।
मधेसका विभिन्न जिल्लामा कार्यक्रम निर्धारण गरिसकेका ठाकुरले जसपा नेपालकै अध्यक्षको हैसियतमा अपिलसमेत जारी गरेका छन् ।
उनले पार्टी एकीकरणपछि बराबरीको आधारमा समायोजन गर्न निरन्तर प्रयास गर्दा पनि उपेन्द्र यादवका तर्फबाट विभिन्न बहानामा समायोजन रोक्ने प्रयास गरेको दाबीसमेत गरेका छन् ।
आफूहरुले परम्परवादी रुपमा रहेका काँग्रेस र कम्युनिस्ट पार्टीहरुको तुलनामा विचारमा वैकल्पिक र देशको लोकतान्त्रिक मूल्य मान्यताको र पहिचानसहितको संघीयतावादी समाजवादी विचारधाराको पहिलो नम्बरको पार्टी बनाउन थालेको तर उपेन्द्र यादवले नै विभिन्न बहाना बनाउँदै त्यसलाई हुन नदिएको ठाकुरको आरोप छ ।
उनले जारी गरेको अपिलमा केपी शर्मा ओलीसँग आफूहरुको निकटता बढ्नुको कारणसमेत प्रस्ट्याएका छन् । माग मुद्दा जसले सम्बोधन गर्छ त्यही पक्षसँग सहकार्य गर्नुपर्छ भनेर आफूहरुले सबैसँग वार्ता र संवाद गर्ने पार्टीगत निर्णयका आधारमा एमाले, काँग्रेस तथा माओवादी केन्द्रसँग छुट्टा छुट्टै संवाद गरेको ठाकुरको अपिलमा उल्लेख छ । ओलीले आफूहरुको माग पुरा गर्ने प्रतिवद्धता मात्र होइन, १३९ जनाको मुद्दा फिर्ता, नागरिकता सम्बन्धी अध्यादेश, संविधान संशोधनका लागि कार्यदल गठनसमेत गरेको भन्दै उनले ओलीसँगको आफूहरुको निकटताको बचाउ गरेका छन् ।






