दमक , २४ साउन । इंग्लिस प्रिमियर लिग (ईपीएल) र एफ कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेस्टर सिटीले जितेको छ।
पछिल्लो सिजनमा ईपीएलमा म्यानचेस्टरले उपाधि जितेको थियो। यता एफ ए कपको फाइनलमा चेल्सीलाई हराउँदै लेस्टर सिटीले उपाधि जितेको थियो।
त्यसैले यि दुई विजेताबीच कम्युनिटी शिल्ड खेल हुने पूर्व निर्धारित थियो। शनिबार राति वेम्बली रंगशालामा भएको खेलमा लेस्टरले म्यानचेस्टर सिटीविरुद्ध १–० गोलको जित निकालेको हो।
लेस्टरको जितका लागि केलेची ह्युनाचोले गोल गरेका थिए। खेलको ८९ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि ह्युनाचोले त्यसको सदुपयोग गर्दै गोल गरेका थिए।
खेलमा ५७ प्रतिशत समय बलमा पकड बनाएको म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा १२ प्रहार गरे पनि सबै प्रयास विफल भएका थिए।
सिटीले रेकर्ड मूल्यमा अनुबन्ध गरेका ज्यान गियरलिसलाई खेलको ६५ औं मिनेटमा डेब्यूको अवसर दिए पनि उनले नजितामा बदलाब ल्याउन सकेनन्।






