नेप्से परिसूचक पछिल्लो केहि समयदेखि निरन्तर घटिरहेको छ । बढ्दो बजारसँगै लोभिएर बजार छिरेका नयाँ लगानीकर्ताहरु आत्तिएका जस्ता देखिन्छन् भने पूराना दिग्गजहरु भने बजारको उतारचढावलाई सामान्य रुपमा लिनु पर्ने बताउँछन् । धेरै नयाँ लगानीकर्ताहरु बजार बढेको बेला लोभमा परेर बजार पस्छन् र अन्तिममा फसेर जीवनभर बजार नछिर्ने कसम खाँदै घाटामा सेयर बेचेर निस्कन्छन् । आखिर हरेक चोटि यस्तो किन हुन्छ ?
प्रथमतः हामी सबैले यो बुझ्नु पर्छ कि बजार च्याखे थाप्ने ठाउँ हैन । बुल बजारमा र भित्री सूचनाको खेलमा बाहेक आजको भोलि पैसा डबल गरेर दिने जादूको छडि पनि बजारसँग छैन । बजारलाई हामी सबैले हाम्रो बचतको केहि अंश पैसालाई मुद्रास्फितिबाट जोगाउने र जीवनको उत्तरार्धमा वित्तिय स्वतन्त्रता हासिल गर्ने एक औजारका रुपमा लिनु पर्ने हुन्छ । जहाँ हामीले जोखिम न्युनिकरण गर्दै उचित मूल्यमा लामो समयसम्म निवेश गर्यौँ र बजारको उतारचढावलाई सामान्य रुपमा लिँदै निरन्तर अघि बढ्यौँ भने बजारले अवश्य पुरस्कृत गर्छ ।
बजारमा निवेश गर्दा हामीले केहि कुरा अवश्य सिकेर मात्र लगानी गर्नुपर्ने विज्ञहरु बताउँछन् । ती मध्येका केहि कुरा हामीले यहाँ चर्चा गरेका छौँ ।
१. सस्तो महँगो छुट्याउन सक्ने ज्ञान
जसरी हामी बजार जाँदा कुन सब्जी सामान्यतयः हुनु पर्ने भन्दा सस्तो छ कुन महँगो छ छुट्याउन सक्छौँ । बजारमा पनि कम्पनीको कमाई , भविष्य , व्यवस्थापकीय कौशल, समग्र अर्थतन्त्रमा त्यो सेक्टरको बजार विस्तार गतिको अपेक्षा आदि हेरेर यी सम्पूर्ण कुरालाई मुल्य आम्दानी अनुपातसँग दाँजेर कम्पनी महँगो या सस्तो छुट्याउन सक्छौँ।
२.आफ्नो वित्तिय हैसियत र जोखिम वहन क्षमता
पूँजीबजार अत्यन्तै जोखिमपूर्ण क्षेत्र हो भन्ने कुरो हामीले कहिल्यै भुल्नु हुँदैन । तसर्थ त्यतिमात्र लगानी गर्नु पर्छ जति आफूले धान्न सकिन्छ । जोखिम न्युनिकरणका लागि अलग अलग मानिसले अलग अलग उपाय अपनाएका हुन्छन। कसैले ऋण नलिन सल्लाह दिन्छन् भने कसैले पोर्टफोलियोमा विविधिकरणको कुरा गर्छन् । यी कुरा पनि कसरी व्यवस्थापन गर्ने भन्ने कुरो व्यक्ति स्वयम् पिच्छे फरक फरक हुन्छन् । त्यसैले आफ्नो आर्थिक हैसियत र जोखिम वहन क्षमता नहेरी अरु कसैले किन्यो या किन भन्यो भनेको भरमा लगानी गर्नु घातक हुन सक्छ ।
३. लोभ र डरलाई नियन्त्रण गरी लगानी रणनीतिको निर्माण
लेखक रविन्द्र भट्टराई भन्नु हुन्छ , सेयरबजार पैसाको समुद्र हो । साँच्चै यो पैसाको समुद्र नै हो तर पौडिन जानेन भने यसले डुबाईदिन पनि सक्छ तसर्थ हामीले सुरुमा पौडिन सिक्नपर्यो । समुद्रमा ह्वेल देखेर म सानो जाल (थोरै पैसा) थापेर ह्वेल मार्छु ( सानो समय मै असम्भव पैसा पार्छु) भन्ने खालको लोभ हामीमा जाग्यो भने ह्वेलले हामीलाई तानेर खाइदिन नि सक्छ । तसर्थ कम्पनी , ट्रेन्ड , लामो होलडिङ्ग या छोटो होल्डिङ्ग, ग्रोथ पोसिबिलिटि, कम्पनीको व्यवस्थापन, देशको आर्थिक अवस्था आदि कुरालाई मूल्यांकन गरेर लोभ र डरलाई काबुमा राखी निरन्तरता कायम गर्दै हामीले लगानी रणनीति अख्तियार गर्यौँ भने अवश्य पनि बजारले हामीलाई केहि न केहि पुरस्कार दिन्छ ।
त्यसैले हामी सबैले अहिले सम्म गरेका गल्तिबाट पाठ सिक्दै माथि उल्लिखित कुरालाई ध्यानमा राखेर लगानी गर्न आजै देखि सुरु गर्यौँ भने नेप्से सूचक कति पुग्ला या नपुग्ला भनेर हामी चिन्तित भईरहनु पर्ने अवस्था रहँदैन ।






