सुनसरी जिल्ला सदरमुकाम इनरुवा प्रहरी कार्यालय तथा रानी शर्मा खत्वेको घर तोडफोड एवं आगजनी भएको तोडफोडको घटनाप्रति मौलिक जरोकिलो पार्टी, प्रदेश नं १ ले घोर भर्त्सना गरेको छ । मुस्लिम समुदायका युवकले हिन्दू समुदायकी युवतीलाई भगाएको घटनापछि युवती पक्षको असन्तुष्टीको कारण युवालाई प्रहरी हिरासतमा लिएको बखत युवकले आत्महत्या गरेको विषयलाई साम्प्रदायिक मुद्दा बनाएर तोडफोड र आगजनीमा उत्रिनु पार्टीले खेदपूर्ण कार्यको रूपमा लिएको छ ।
नेपालमा जातिय एवं साम्प्रदायिक घृणा एवं विभाजन बढाउन विदेशी विधर्मी तत्व सक्रिय रहेको अवस्थामा यस किसिमको घटनाले आगोमा घिउ थप्ने कार्य गर्न सक्ने भएको हुँदा दुवै पक्षलाई संयमित रहन पार्टीले अनुरोध गरेको छ । साथै, हिरासतमा रहेको व्यक्तिले आत्महत्या गर्न सक्ने अवस्था आउनुलाई चिन्ताजनक कार्य भन्दै यस किसिमको घटना दोहोरिन नदिन यथाशीघ्र आवश्यक कदम चाल्न मौलिक जरोकिलो पार्टी, प्रदेश नं १ जोडदार माग गर्दछ ।






