नेपाली मुद्रामा नेपाल एकीकरणका नायक एवं राष्ट्रिय एकताका प्रतिक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न मौलिक जरोकिलो पार्टीले सरकारसंग माग गरेको छ ।
स–साना भुरे टाकुरे राज्यहरूमा विभाजित नेपाललाई एकीकरण गरेर स्वतन्त्र, स्वाधीन एवं सार्वभौमसत्तासम्पन्न नेपालको भू–राजनीतिक–वैधानिकतालाई अविच्छिन्न राख्न योगदान पुर्याउनुभएका श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्मान स्वरुप नेपाली मुद्रामा वहाँको तस्वीर अंकित गर्न पार्टीले माग गरेको हो ।
‘ चाहे गणतन्त्रवादी होस् वा राजतन्त्रवादी, पृथ्वीनारायण शाह सबैका साझा हुनुहुन्छ । आउँदो पुष २७ गते पृथ्वीजयन्ती तीन सय वर्ष पुग्दैछ । यसै अवसर पारेर सरकारले पृथ्वीनारायण शाहको तस्वीर अंकित मुद्रा प्रचलनमा ल्याउने निर्णय गर्नुपर्छ ।’ पार्टीका अध्यक्ष सुशील गौतमले बताउनुभयो ।
मौलिक जरोकिलो पार्टीले श्री ५ पृथ्वीनारायण शाहलाई नेपालको पुनर्जागरणको संवाहकको रूपमा लिने गरेको छ । पृथ्वीनारायण शाहको तस्वीरलाई नेपाली मुद्रामा अंकित गर्न हस्ताक्षर संकलन लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गरिसकेको जनाएको छ ।






