राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलमा गरेको स्थलगत अवलोकनका क्रममा उडान सेवा विलम्ब हुनु र यात्रुले सास्ती बेहोर्नुमा एयरलाइन्सको लापरवाही रहेको निष्कर्ष निकालेको हो ।
आयोगको सङ्घ र प्रदेश कार्यालयले तीन महिनाको अवधिमा गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हवाई यात्रु खासगरी सुत्केरी, बिरामी, महिला, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकले बढी सास्ती बेहोर्नुपरेको उल्लेख गरेको छ । तोकिएको समयमा र विना झन्झट यात्रा गर्न पाउने आम उपभोक्ताको अधिकारका सम्बन्धमा सरोकारवाला पक्षलाई जिम्मेबार बनाउन तथा विमान उडानको निर्धारित समयमा ढिलाइ हुन नदिन गरिएको व्यवस्थापनबारे सम्बन्धित विमान सेवा कम्पनीसँग जानकारी लिने जनाएको छ ।
आज ‘हवाई उडान र नागरिकको उपभोक्ता अधिकार’सम्बन्धी छलफल कार्यक्रममा आयोगका उपसचिव मञ्जु खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै यात्रुको उपभोक्ता अधिकार सम्बन्धमा विमानस्थल तथा विमान सेवा कम्पनीमा गरिएको स्थलगत अनुगमनको सार प्रतिवेदन प्रस्तुत गर्दै उडानबारे यात्रुलाई समयमा सही सूचना नदिइँदा यात्रुले सास्ती बेहोर्नुपरेको पाइएको बताउनुभयो ।






