मिति २०७८ साल फागुन १४ गते मौलिक जरोकिलो पार्टी प्रदेश १ को वैठक ( सत्सङ्ग ) प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न भएको छ ।
आसन्न स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर विभिन्न विषयमा छलफल र निर्णय गरिएको छ । वैठकमा प्रदेश पदाधिकारी र सदस्यका अतिरिक्त १ नं प्रदेशमा रहनुहुने केन्द्रीय सदस्यहरू आमन्त्रित सदस्यका रूपमा र बिभिन्न जिल्ला र पालिका समितिका अध्यक्षहरूको पदेन सदस्यका रूपमा उपस्थिति रहेको थियो ।
वैठकमा विभिन्न समसामयिक विषयहरूमा गहन छलफल गर्दै तपसिल बमोजिम प्रस्ताव पारित गरेको छ:
१] स्थानीय निर्वाचनमा सहभागिता जनाउन निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा सहभागी हुने निर्णय गरेकोमा मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष आदरणीय सुशील गौतम एवम् केन्द्रीय समिति प्रति १ नं प्रदेश समितिको तर्फबाट हार्दिक धन्यवादसहित आभार व्यक्त गर्ने निर्णय गरियो ।
२] १ नं प्रदेश कार्यपरिषद्ले बिभिन्न समयमा गरेका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरियो ।
३] आसन्न स्थानीय निर्वाचनमा १ नं प्रदेश अन्तर्गतका अधिकतम पालिकाहरूमा पात्रता परिक्षण गरि उम्मेदवार चयन गर्दै उम्मेदवारी दिने निर्णय गरियो ।
४] स्थानीय निर्वाचन र स्थानीय समस्याहरूलाई केन्द्रमा राखेर पार्टीका गतिविधि सञ्चालन गर्न जिल्ला समिति , पालिका समिति एवम् वडा समितिलाई निर्देशन दिने निर्णय गरियो ।
५] प्रदेश १ अन्तर्गत स्थानीय तह, जिल्ला तह, प्रदेश तहका साथै केन्द्रीय तह र मतदाता एवम् सञ्चार क्षेत्रसँग समन्वय गर्न प्रदेश सचिव राजकुमार दाहालको संयोजकत्वमा सङ्गठन बिभाग सदस्य हीरा बाँस्तोला, प्रदेश सदस्य उमाकान्त सिटौला , सागरमणि गौतम, शिक्षा विभाग सचिव प्रेम सेढाईं सदस्य रहने एवम् आवश्यकता बमोजिम सदस्य थप गर्ने गरि प्रदेश १ निर्वाचन डेस्क स्थापना गर्ने र यसलाई जिल्ला, पालिका र वडा तहसम्म विस्तार गर्ने निर्णय गरियो ।
६] मौलिक जरोकिलो पार्टी सुनसरी जिल्ला समितिका निवर्तमान संयोजक हेमकुमार दाहाललाई १ नं प्रदेश समिति सदस्यको जिम्मेवारीमा चयन गर्ने निर्णय गरियो ।
७] प्रदेश १ बाट मौलिक जरोकिलो पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नु हुने पदाधिकारी र सदस्यहरू एवम् प्रदेश १ बाट अन्तर्राष्ट्रिय क्षेत्रमा रहनु हुने जरोकिलो महाअभियानका अभियानकर्ताहरू सम्मिलित हुने गरि १ नं प्रदेश क्षेत्रमा निर्वाचन परिचालन र मार्ग निर्देशनका लागि ” निर्वाचन परिचालन समिति ” गठन गर्ने निर्णय गरियो ।
उक्त बैठकमा केन्द्रीय उपकोषाध्यक्ष नम्रता उप्रेती, सहृदयता अन्तरराष्ट्रिय साउदी अरबका अध्यक्ष सागर लामिछाने बस्नेत, सुनसरी निवासी समाजसेवी रामेश्वर थापा, स्वकृयात्मक सदस्य मेघराज कार्की र सङ्गिता कार्की, सुनसरी अध्यक्ष रोहित कुमार दुलाललाई उहाँहरूले पुर्याउनु भएको योगदानका लागि सम्मान व्यक्त गरिएको थियो ।
पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले प्रविधिको प्रयोग मार्फत वैठकलाई संवोधन गर्नु भएको र अन्त्यमा सभाध्यक्षबाट धन्यवादसहित वैठक समाप्त भएको मौलिक जरोकिलो पार्टीका १ नं प्रदेश महासचिव अर्जुन कुमार भट्टराईले जानकारी दिनु भयो ।






