
चर्चित नेपाली ब्याण्ड ‘नेपथ्य’ले नयाँ वर्षका दिन दर्शकमाझ आफ्नो प्रस्तुती देखाउने भएको छ। कोरोना प्रकोप कम हुँदै गएको अवस्थामा नेपथ्य पुनः प्रत्यक्ष सांगितिक यात्रामा अग्रसर भएको हो।
आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ।दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरी एक पटक उभिने भएको छ । यसभन्दा पहिले पनि नेपथ्यले यसै मैदानमा चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा सांगितिक कार्यक्रम गरेको थियो।
दमकको खुला चौरमा कन्सर्ट गर्नुअघि नेपथ्यले यस सहरका सिनेमाहलमा तीनवटा कन्सर्ट गरिसकेको छ।
यसअघि दमकमा नेपथ्यकै कन्सर्टमा धरान, विराटनगरहुँदै इलामसम्मका दर्शकले उपस्थित भएका थिए। दमकमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुनेछ ।
यसपटक को नेपथ्य कार्यक्रम दुइ बर्ष पछिको अन्तराल मा हुदैछ । दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका आर के गोश्वामी भन्छन् ।
कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ। अनलाईनबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ।https://thuprai.com/event/nepathya-live-2079-damak/
नयाँ वर्षको दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिने बताइएको छ।