
दमकको चुनावी मत गणना अन्तिम चरणमा पुगिसकेको छ । आदिकारिक घोषणा हुन बाँकी रहेपनि गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा नै विजयी निश्चित भइसकेको छ । अहिले वडानं ६ को मत गणना भइरहेको छ । दमकमा एमाले एक्लै र बाकी दल गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
वडा नम्बर १, २, ३,४, ५, ८, ९ र १० को मत परिणाम सार्वजनिक हुँदा अहिले गठबन्धनका उम्मेदवार राप्रपाका राम थापा एमालेकी गीता अधिकारी भन्दा चार सय ३ मतले अघि छन् ।
थापाले १६ हजार २२७ मत पाउँदा अधिकारीले १५ हजार ५३२ मत प्राप्त गरेकी छन्। उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई अघि छन्। उनले १५ हजार ७२९ मत प्राप्त गर्दा एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १५ हजार ५३२ मत प्राप्त गरेका छन्।
अघिल्लो चुनावमा दमक नगरपालिकाको मेयरमा एमालेका रोमनाथ ओली निर्वाचित भएका थिए। एमाले अध्यक्ष केपी ओलीको गृहनगर भएकाले दमकको चुनावी नतिजालाई महत्वका साथ हेरिएको छ।