
पेट्रोलियम पदार्थ, खाधान्न लगायतका दैनिक उपभोग्य बस्तुमा सरकारले गरेको मूल्यवृद्धि विरुद्ध नेकपा एमालेको ३ संगठनले दमकमा मसाल जुलुस गरेको छ ।
एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ र अनेरास्वियुले आज साँझ मसाल जुलुस गरेको हो । आन्दोलनकारीहरुले मूल्यवृद्धि विरुद्ध नारावाजी गर्दै मसाल बालेर दमकको गणतन्त्र चोक परिक्रम गरेको छ ।
मसाल वालेर नारावाजी गर्दै चोक परिक्रम गरी रहेका जनसंगठनका नेता ,कार्यकर्ताको वलेको मसाल नियन्त्रणमा लिन प्रहरी हम्मे हम्मे परेको थियो । मसाल जुलुस पछिको गणतन्त्र चोकमा भएको कोणसभालाई सम्वोधन गर्दै युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले इन्धन लगायतका उपभोग्य बस्तुमा अहिले नालयक सरकारले हात्तै मूल्य वृद्धि गरेर जनताको ढाड सकेको बताउनु भयो । यो मूल्यवद्धि फिर्ता नभए सम्म आन्दोलन जारी राख्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।
आम जनतालाई ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिको विरुद्धमा आन्दोलनमा आउन गठबन्धन गरेका दलहरुलाई पनि आग्रह गर्दै हिजो केपी ओली सरकारले मूल्य वृद्धि गरे भनेर कुर्लीने गठबन्धन दलहरु अहिले कहाँ रहेका छन् भन्दै अध्यक्ष भण्डारीले प्रश्न गर्नु भयो । मूल्य वृद्धि सरकारले जव सम्म फिर्ता लिदैन त्यस वेला सम्म आन्दोलन जारी राख्ने आयोजक संगठनहरुले बताएका छन् ।