
विवेकशील साझाको अध्यक्षबाट नैतिकताका आधारमा राजीनामा दिएका रवीन्द्र मिश्रले आफूबाट समाज र देशलाई ठग्ने काम नहुने बताएका छन्।
मंगलबार पदबाट राजीनामा दिएका मिश्रले तत्काल कुनै पनि सञ्चारमाध्यमसँग थप टिप्पणी नगर्ने पनि बताएका छन्। ‘ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छु : मबाट बेइमानी हुँदैन,’सामाजिक सञ्जालमार्फत एक स्टाटस पोस्ट गर्दै मिश्रले भनेका छन्, ‘यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु।’
मिश्रले विचारभन्दा माथि देशलाई राख्ने आफ्नो मान्यतालाई शिरोधार्य गर्दै सधैं प्रयासरत रहने बताएका छन्। ‘विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु’, उनले भनेका छन्।
यस्तो छ मिश्रको स्टाटस :
मेरो राजीनामाको सन्दर्भमा!
बाँकी, “उपरवाले की इच्छा!”
हिजो मैले विवेकशील साझा पार्टीको अध्यक्षको पदबाट चुनावी परिणामका कारण नैतिकताको आधारमा राजीनामा दिएपछि पार्टीका साथीहरू तथा सञ्चार माध्यमबाट प्रशस्त फोनहरू आइरहेका छन्। त्यसै सन्दर्भमा निम्न अनुरोध गर्न चाहन्छु :
१) मैले भन्नु पर्ने कुरा हिजो जारी विज्ञप्तिमा भनिसकेको छु। हाललाई म कुनै पनि सञ्चार माध्यमसँग थप टिप्पणी गर्न चाहन्नँ।
२) यति धेरै प्रतिकूलताबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सद्भाव देखाएर सन्देश पठाउने सबैप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र! ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छु : मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु।
३) पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।
४) कतिपय साथीहरूले “अब तपाईं के गर्नु हुन्छ?” भनेर सोधिरहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकी, “उपरवाले की इच्छा!”
साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरूँला!
फेरि एकपटक तपाईंहरूको स्नेह र सद्भावप्रति नतमस्तक छु!