
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गनु भएको छ ।
आज दिउँसो झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।’
एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उहाँको आरोप थियो। उहाँले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गर्नुभयो । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उहाँको जोड थियो ।
“हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो”, उहाँले भन्नुभयो ।