केहि दिन अघि दमक अनलाइनको टिम कमल गाउपालिका घुम्ने क्रममा थियो। हिड्दै गर्दा हामी कमल १ बासबारी तिर थियौ । काम बिशेषले सुनहारा जाँदै गर्दा हामी दृश्यमा देखिएको बाटो हुँदै लाग्यौ । यो बाटो केही समयमात्र अघि बनिएको स्थानीय युवाहरुको भनाइ थियो। उनिहरुका अनुसार ” काम सम्पन्न भएको केही समयमा नै यो बाटो यसरी खाल्डा परेको छ। हामीले भनेको पनि कसले सुन्ने हो र? अनि उजुरी गर्ने पनि कसलाई? हामीले चिन्ने त स्थानिय जनप्रतिनिधिहरुलाइ नै हो।

उहाँहरुलाइ सोध्यो भने यो प्रदेशको बजेट हो भनेर आफ्नो कर्तव्यबाट पन्छिनु हुन्छ” । युवाहरुको यस्तो आवाज सुन्दा प्रश्न यो उठ्छ कि, के राज्यले यत्रो लगानी गरेको वडातहको सरकारको जिम्मेवारी के हो? सो निकायले स्थानिय बिकाश निर्माणका कामहरुमा आवश्यक सुपरिवेक्षण गर्नु पर्दैन र। देशभरी भ्रष्टाचारका अनेकौ कान्डहरु सार्वजनिक हुँदै गर्दा यो योजनामा काम गर्ने ठेकेदार र स्थानीय सुपरिवेक्षण गर्नु पर्ने जनप्रतिनिधिहरु दुधको साची बिरालो जस्तै नहोलान भन्न चाहिँ सकिँदैन। सो वडाका वडा अध्यक्ष केदार कटुवाल हुन। कटुवालको यो वडा अध्यक्षका रुपमा दोश्रो कार्यकाल हो ।

जनताको अप्रत्याशित भारी मतका साथ दोश्रो पटक बिजयी भएका कटुवालले जनताको मन जित्न भने यस्ता स्थानीय स्तरमा हुने बिकाश निर्माणका कामहरुको अनुगमनमा भने आफ्नो ध्यान केन्द्रित गर्नु परेको देखिन्छ।

कमल-१ कमल गाउपालिकाको दक्षिण भेगमा रहेको एक दुर्गम वडा हो। सो वडाले अरु वडाको तुलनामा यस्ता बिकाश निर्माणका काममा आफुलाइ अब्बल ठहराए मात्र समग्र कमल बिकाशमा आफ्नो नाउ टेकाउन सक्छ। बनेको केही समयमै यसरी खाल्डो पर्ने सडकले भने पुरै वडालाई अवोन्नतीको बाटो तर्फ अग्रसर गराएको देखिन्छ। यस्ता खाल्का अनैतिक गतिविधि जसमा भ्रष्टाचारको आशन्का गर्न सकिन्छ । यस्ता कुराहरुमा हामिले कुराकानी गरेका युवाहरूको भनाइ जस्तै जिम्मेवारी चाहिँ कसले लिने हो खै?
यस विषयलाइ आउदा दिनहरुमा हामी भने पछ्याउने छौ नै।






