राज्यका हरेक आयाममा मौलिक प्रतिमानको स्थापना गर्नुपर्छ भन्ने मान्यता बोकेको मौलिक जरोकिलो पार्टीले योग प्रशिक्षक रोमादेवी निरौलालाई प्रदेश नं. १ को मुख्यमन्त्रीका रूपमा प्रस्तावित गर्दै उम्मेदवारी दाखिला गरेको छ । मौलिक जरोकिलो पार्टीले असौज २३ गते प्रदेश १ अन्तर्गतका बिभिन्न जिल्लाहरूमा प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव राजकुमार दाहालले बताउनु भएको छ ।
प्रदेश १ को मुख्यमन्त्रीमा प्रस्तावित रोमादेवी निरौला झापा २ ( क ) बाट त्यसैगरि सीता दुलाल झापा १ ( क ) बाट, उमाकान्त सिटौला झापा ४ ( ख ) बाट , आशीष महत इलाम १ ( क ) बाट उम्मेदवार रहनु भएको छ भने प्रतिनिधिसभाका लागि चुडामणि अधिकारी झापा ३ बाट, रोहित दुलाल सुनसरी २ बाट, रामेश्वर थापा सुनसरी ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहनु भएको छ । यसरी नै पार्टीका तर्फबाट १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओली लगायत १६ जना १ नं प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनु भएको छ ।
झापा बिर्तामोड निवासी निरौला शिक्षित, प्रशिक्षित र दीक्षित व्यक्तित्व भएको बताईएको छ । निरौलाले झापा जिल्ला निर्वाचन क्षेत्र नं २[१] बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यको उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नु भएको छ । पार्टीको केन्द्रीय समिति सदस्य रहेकी निरौला मौलिकताको पक्षमा प्रखर रूपमा लागेकी नेताको रूपमा लिने गरिन्छ ।
उम्मेदवारी दाखिला पश्चात पत्रकारसँग कुरा गर्दै १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले मौलिक जरोकिलो पार्टी मात्रै वास्तविक महिलामैत्री र भुईँमान्छेको पार्टी रहेको कुरा बताउनु भयो । अन्य पार्टीहरूले कोटा पुर्याउन मात्रै महिला र भुईँमान्छेलाई अघि सार्ने गरेको तर मौलिक जरोकिलो पार्टी मातृशक्ति र भुईँमान्छेको सम्मान गर्ने शक्ति रहेको कुरा बताउँदै मातृशक्ति र भुईँमान्छेको पार्टी भएकोले यसपटकको निर्वाचनमा अधिकांश उम्मेदवार भुईँमान्छे र महिला रहेका छन् । कुराकानीका क्रममा उहाँले भन्नुभयो-
नेपालको संविधानमा सिधै मुख्यमन्त्री निर्वाचित हुने प्रावधान नरहेता पनि आफ्नो पार्टीले संविधान पुनर्लेखन गरेपछि यस किसिमको व्यवस्था हुनेछ भनेर व्यावाहारिक रूपमै अभ्यासका लागि मुख्यमन्त्रीको घोषणा गरेर अघि बढेका हौं ।
मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार रोमादेवी निरौलाले नेपालको गौरव, मौलिकता, विशेषता, ज्ञान परम्परा, सभ्यता र राष्ट्रिय चरित्रको रक्षा गर्न चाहने जो कोहीले पनि कम्प्युटर चुनावचिह्नमा मतदान गरेर राष्ट्रिय अस्मीताको रक्षा गर्न अपिल गर्नु भयो ।
मौलिक जरोकिलो पार्टीले भावी प्रधानमन्त्रीको रूपमा भक्तपुरका वरिष्ठ उपाध्यक्ष बलराम प्रजापतिलाई प्रस्ताव गरिसकेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सावित्री गिरीलाई प्रस्ताव गरेर निर्वाचन होमिएको कुरा प्रदेश १ का सञ्चार संयोजक शुलभराज बरालले जानकारी गराउनु भएको छ ।