
इटहरी– दुई दशकदेखि हाँस्य व्यंग्यात्मक गीत–संगीत सिर्जना गरेर बोके दारीको पहिचान बनाएका हाँस्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल यतिबेला एउटा नयाँ गीतमार्फद दर्शक तथा स्रोतामाझ आएका छन् ।
आफ्नै संगीतमा लुइँटेलले ‘काका हरायो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
उनले आफ्नै युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । लुइँटेलसँगै गीतमा मनिषा पोखरेलको पनि स्वर रहेको छ । यो गीका रचनाकार अच्युत अधिकारी (ब्याए भुटान) हुन् ।
अंग्रेजी शब्दको बाहुल्यताले आम नेपाली बालबालिकाले नेपाली भाषा र संस्कृतिलाई नै भुल्दै गएको कुरालाई गीतमार्फत उनले पृथक तथा रोचक ढंगले प्रस्तुत गरेका छन् ।
बालबालिकाका पहिलो गुरु आफ्नै आमा–बुवा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावकमार्फत हुने सन्देश दिनका लागि यो म्यूजिक भिडियोको परिकल्पना गरिएको लुइँटेलले बताए ।
सामान्य बोलिचालीको भाषा र भावलाई टपक्क टिपेर संगीत भर्न र व्यंग्य गर्न सिपालु लुइँटेलका यस अघिका ए बाउ किन्देउ न भट्भटे, बोकेदारीलगायतका थुप्रै गीतले उनलाई हाँस्य व्यंग्य गायकका रुपमा स्थापित गरिसकेको छ ।
आफैँ भिडियोमा पनि देखिने गायक लुइँटेलको यो पछिल्लो र नवीन प्रस्तुतिलाई उनका शुभ चिन्तकले चर्चा गर्न थालेको देखिन्छ तर आम दर्शकले भने कसरी रुचाउँछन् त्यो भने हेर्न बाँकी छ ।