विराटनगर महानगरपालिकामा बिहीबारबाट सिएनआई कोसी एक्स्पो आयोजना हुने भएको छ।
उद्योग परिसंघ प्रदेश १ ले पत्रकार सम्मेलन आयोजना गर्दै बिहीबारबाट विराटनगर-२ शंकरपुरमा एक्स्पो आयोजना हुने जानकारी दिएको हो।
उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष भीम घिमिरेले एक्स्पोको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए। ‘छुट्टाछुट्टै पेभेलियनहरूको निर्माण कार्य जारी नै छ, पर्यटन प्रवर्द्धनका स्टल बनाइरहेका छौं,’ उनले भने, ‘भोलिसम्ममा नै सबै स्टलहरू उद्यमीहरूलाई हस्तान्तरण दिन्छौं।’
थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन प्रवर्द्धन गर्ने, उत्पादक र उपभोक्ताबीचको सम्बन्धमा निखार ल्याउने, छिमेकी मुलुकबाट लगानीकर्ता, प्रविधि भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ।
‘पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न एकै थलोमा संसारको सबैभन्दा उच्च शिखर सगरमाथादेखि लिएर सर्वाधिक होचो ठाउँ केचनासम्मको प्रवर्द्धन गर्नेछौं,’ उनले भने, ‘थारू, राजवंशीलगायत तराईबासीको जातीय पहिचान र उनीहरूका विभिन्न परिकार समावेश हुने स्टलहरू यसपालि देख्न पाउँछौं।’
एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने उनले जानकारी दिए। एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरूका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ।
ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरू, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफूल र अचारका स्टलहरू रहने बताइएको छ।
हिमाली जिल्लाका जडिबुटी औषधि, छुर्पी, मह, चिज, अकबरे खोर्सानीलगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने अध्यक्ष घिमिरेले जानकारी दिए।
यस्तै, एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले विशेषगरी महिलाहरू संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पुर्याउनका एक्स्पोले भूमिका निर्वाह गर्ने बताए।
माघ २८ गतेसम्म चल्ने एक्स्पोको मुख्य प्रायोजक रमपम चाउचाउ हो। केएल दुगड, म्याजिक चप्पलले पनि प्रायोजन गरेको एक्स्पोको बैंकिङ पार्टनर सिद्धार्थ बैंक हो भने बीमा पार्टनर हिमालय इन्सुरेन्स कम्पनी हो।
एक्स्पोमा सहभागी हुन ५० रुपैयाँदेखि २०० रुपैयाँसम्मको टिकट काट्नुपर्ने छ। कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले भने विद्यालयको सिफारिस ल्याएमा नि:शुल्क प्रवेश पाउने एक्स्पोका संयोजक राजेन्द्र राठीले जानकारी दिए।
‘अपराह्न १२ बजेभित्र इन्ट्री गराएमा विद्यार्थीले नि:शुल्क प्रवेश पाउने छन्,’ उनले भने, ‘त्यसका लागि युनिफर्म वा विद्यालयको सिफारिस ल्याउनु पर्ने छ।’
एक्स्पोमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अनुमान छ। ‘कुनैपनि एक्स्पोमा सहभागिता नजनाउने ब्रान्डहरूले पनि यो एक्स्पोमा सहभागिता जनाउने छन्,’ उनले भने, ‘वीरगन्ज, भैरहवा, नेपालगन्ज र नवलपरासीलगायतका औद्योगिक उत्पादन तथा ब्रान्डहरूले आफ्नो स्टल राख्ने छन्।’
साँझपख एक्स्पोमा ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने छन्। गायक सवीन राई र उनको ब्यान्ड, राजु लामा र उनको मंगोलियन हर्ट, अभय सुब्बा, एकदेव लिम्बू, नितेशजंग कुँवर, समीर श्रेष्ठ, आशिष गुभाज र अनुप्रस्थ ब्यान्डलगायतको प्रस्तुति रहने छ।






