शुलभ राज बराल, झापा
अनिच्छित रूपमा गर्भवती बनेकी झापा दमक नगरपालिका–४ की सम्झना राईले असुरक्षित गर्भपतन गराउँदा मृत्युवरण गर्नुप¥यो। इच्छाविपरीतको गर्भको अन्त्य गर्न मोरङको उर्लाबारी पुगेकी राईको ४० वर्षको उमेरमा ज्यान गयो।
गत जेठ ३२ गते करिब २२ हप्ताको गर्भ लिएर उनी गर्भपतन गराउन मोरङको उर्लाबारी नगरपालिका–६ मधुमल्लारोडमा पुगेकी थिइन्। २५ हजार रुपैयाँ तिरेर मधुमल्लारोडस्थित आश्रय मेडिकल हलमा औषधि सेवन गरेर उनले गर्भपतन गराएकी थिइन्।
तर, आश्रय मेडिकल हल न त गर्भपतनका लागि सरकारबाट मान्यताप्राप्त थियो, न त त्यहाँका सञ्चालक सन्तोष घिमिरे गर्भपतन सेवाको तालिमप्राप्त स्वास्थ्यकर्मी नै थिए। पैसाको लालचमा सन्तोषले गर्भावस्था निर्क्यौल नै नगरी औषधि दिए, जसका कारण सम्झनाले ज्यानै गुमाउनुप¥यो।
सन्तोषले दिएको औषधि सेवन गरेपछि सम्झनाको अत्यधिक रक्तश्राव भयो, सँगसँगै ‘इन्फेक्सन’ पनि। अत्यधिक रक्तश्राव र सङ्क्रमणका कारण उपचारकै क्रममा असार ३ गते आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्झनाको मृत्यु भयो।
सम्झनाको मृत्युपछि मोरङ प्रहरीले असुरक्षित गर्भपतन गराएको आरोपमा मेडिकल पसल सञ्चालन गर्दै आएको झापाको दमक घर भएका ४० वर्षीय सन्तोष घिमिरेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको र घिमिरेले गर्भपतन गराउन तालिम नलिएको खुलेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार घिमिरेले सम्झनालाई कुन औषधि खुवाए भन्ने पत्ता लागिसकेको छैन। यस विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।
०००००
‘सकभर गर्भपतन गराउनेखालको वातावरण सिर्जना हुन नदिनुहोस्, त्यस्तो अवस्था आइहाले सुरक्षित तबरले गर्नुहोस्।’ वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीको वाणी हो, यो।
मोरङको बुढीगंगास्थित विराट टिचिङ कलेजका अध्यक्ष डा. कार्की लामो समययता असुरक्षित गर्भपतनलाई निरुत्साहित पार्ने अभियानमा सक्रिय छन्। असुरक्षित रूपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित गर्भपतनबारे जनचेतना अभिवृद्धिमा जोड दिने गरेका छन्, उनले।
‘सकभर गर्भपतन गर्न नपरोस् भन्ने मान्यता राख्ने गर्छु,’ डा. कार्की भन्छन्, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन्। म त भन्छु, असुरक्षित रूपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरू प्रयोग गरी गर्भपतन गराउनु हुँदैन भन्ने सन्देश दिन जरुरी छ।’
तथापि, परिवार नियोजनका साधनहरू पनि शतप्रतिशत सुरक्षित नहुने भएकाले शारीरिक सम्बन्धका बेला सचेत बन्ने र अनिश्चित रूपमा गर्भ बसिहालेमा बेलैमा सुरक्षित गर्भपतन विधि अवलम्बन गर्न सकिने डा. कार्कीको भनाइ छ।
औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहज रूपमा पाइने भएकाले गर्भवतीहरू बढी मेडिकलमा गई अवैध रूपमा गर्भपतन गराउने गरेका छन्। यसरी जथाभावी गर्भतपन गराउँदा स्वास्थ्य जटिलता निम्तिनेमात्र नभएर गर्भवतीको ज्यानै जान सक्छ। इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारबाट सूचीकृत स्वास्थ्यकर्मीबाट इजाजतप्राप्त स्वास्थ्य संस्थामा गएर सेवा लिन सकिन्छ। तर, पछिल्लो समय सहजतालाई ध्यानमा राखेर गर्भपतनका लागि दर्ताबिनाको औषधि सेवन गर्ने गरिएको छ।
खुला सीमाबाट बिना दर्ताका गर्भपतनका औषधि नेपाल प्रवेश हुने र बिक्री–वितरण भएपछि झन् असुरक्षित गर्भपतन गराउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ। प्रभावकारी अनुगमन नहुँदा गलत रूपमा औषधिको प्रयोग हुने गरेको छ। औषधिको सेवनबाट हुने गर्भपतनमात्र नभएर सूचीकृत नभएका स्वास्थ्य–संस्थाबाट शल्यक्रिया विधिमार्फत् गरिने गर्भपतन पनि स्वास्थ्य क्षेत्रका लागि चुनौती बनेको छ।
सरकारले मान्यता नदिएका स्वास्थ्य चौकीबाट पनि गर्भपतन गराएर अत्याधिक शारीरिक तनाव र जोखिम लिएर अस्पताल पुग्ने गरेका छन्। गर्भपतन मान्यताप्राप्त स्वास्थ्य संस्थामा अनुभवी चिकित्सकबाट गराउँदा सुरक्षित हुन्छ। नेपाल सरकारले निःशुल्क रूपमा दिएको परिवार नियोजनका साधनहरू प्रयोग गर्न नजान्दा र जानेर पनि बेवास्ता गर्दा महिलाहरू गर्भपतनको जोखिम लिइरहेका छन्। गर्भपतन गर्ने बाध्यता आइपरेमा सुरक्षित रोज्नुपर्छ।
झापा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भइरहेको कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालय, धनकुटाको तथ्याङ्क छ। आर्थिक वर्ष २०७७–७८ देखि २०७९–८० को जेठसम्मको तथ्याङ्क हेर्दा झापामा सात हजार एक सय ८६ जनाले सुरक्षित रूपमा गर्भपतन गराएका छन्।
चालू आर्थिक वर्षको जेठसम्ममा झापाका विभिन्न मान्यताप्राप्त स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट दुई हजार एक सय ३० जनाले गर्भपतन गराएका छन्। तीमध्ये एक सय २१ जना २० वर्षभन्दा मुनिका गर्भवती रहेका छन् भने दुई हजार नौ जना २० वर्ष वा त्यसभन्दा माथिका उमेर समूहका छन्।
कोसी प्रदेशभरि भने चालू आर्थिक वर्षको जेठसम्ममा १२ हजार सात सय ४७ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ। त्यसमध्ये २० वर्षभन्दा मुनिका आठ सय तीन जना र त्यसभन्दा माथिका १२ हजार दुई सय ७४ जना रहेका छन्।
कोसी प्रदेश, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेत सेवा बिस्तारले हेर्दा सुरक्षित गर्भपतनको आँकडा सकारात्मक देखिए पनि समग्रमा अपेक्षाकृत नरहेको बताउँछन्।
‘सुरक्षित गर्भपतनको सेवा लिनेहरूको तथ्याङ्क सेवा विस्तारको नजरले हेर्दा सकारात्मक छ, तर समग्रमा अपेक्षा गरेअनुरूपको छैन,’ उनले भने, ‘गर्भपतनका केसहरू जति कम भेटियो, त्यति राम्रो। चाहे त्यो सुरक्षित होस् वा असुरक्षित। भरिसक्दो गर्भपतन गर्ने अवस्था नआओस्, परिवार नियोजनका साधनको पहुँचमा व्यापकता छाओस्।’
‘सुरक्षित गर्भपतनका डाटा देखाउँदै गर्दा असुरक्षित गर्भपतनका कारण तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या बोक्नेहरूलाई बिर्सन मिल्दैन,’ उनले थपे, ‘असुरक्षित रूपमा गर्भपतन गराएर अस्पताल आउनेहरू धेरै हुनुहुन्छ। यसलाई हेर्दा पनि खासै सन्तुष्ट हुने ठाउँ छैन।’
असुरक्षित गर्भपतनले मातृमत्युदर बढाउँछ। तर, कोसी प्रदेशमा मातृमृत्युदर दिनानुदिन घट्दो अवस्थामा रहेकोले असुरक्षित गर्भपतनको अनुपात घट्न थालेको उनको अनुमान छ। ‘हामीले सूचीकृत संस्था र तालिमप्राप्त चिकित्सकको सङ्ख्या बढाउँदै लगेका छौं,’ उनले भने, ‘फेरि परिवार नियोजनका साधनमा पनि पहुँच बढ्दो छ। यसैले असुरक्षित गर्भपतन गराउनेक्रम घटेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।’
समाज शिक्षित भइसकेकोले धेरै व्यक्तिहरू आफ्नो स्वास्थ्यप्रति सचेत भएको उल्लेख गर्दै बस्नेतले परिवार नियोजनका साधन र सुरक्षित गर्भपतनप्रति मानिसको चेतनामा परिवर्तन भएको सुनाए। त्यसबाहेक आफूहरूले पनि असुरक्षित गर्भपतनलाई जरैदेनि निर्मुल पार्नका लागि विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ। विशेषगरीः किशोर–किशोरीलाई यसबारे सचेत बनाउन आम–सञ्चारमाध्यकको सहायतामा सचेतनामुलक कार्यक्रम ल्याएको बस्नेतले बताए।
गर्भपतन भन्नेबित्तिकै धेरैले डर, त्रास, घृणा, खतरा, लाज, पाप, हत्या, अपराध आदिसँग जोडेर हेर्छन्। अनिच्छित रूपमा बसेको गर्भलाई पतन गर्न खोज्दा विभिन्न लाञ्छना लगाइन्छ, चत्रिसँग जोडेर हेरिन्छ।
जसकारण, गर्भवतीले आफ्ना समस्या लुकाउँछन्, गोप्य रूपमा असुरक्षित गर्भपतन सेवा रोज्छन्, दीर्घकालीन रोगको शिकार हुन्छन्, ज्यान गुमाउन सक्छन्, आत्महत्यासम्मको बाटो रोज्न सक्छन्। साथै, अनिच्छित गर्भको बाध्यतालाई सुरक्षित उपाय दिन नसक्दा उनीहरू शिक्षा, रोजगारी र सामाजिक अवसरहरूबाट बञ्चित हुन सक्छन्।
सुरक्षित गर्भपतन गर्नु पाप होइन, बरु बुद्धिमानीको सूचक हो भन्ने कुरा बुझ्नु जरुरी छ। सामाजिक–सांस्कृतिक व्यवधानका कारण ढिलाइ हुँदा कानुनले तोकेको गर्भपतन गराउने समयावधि गुज्रिन्छ र उनीहरू लुकेर असुरक्षित गर्भपतन गराउने ठाउँमा पुग्छन्।
असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनांगहरू नै बिग्रिने हुनसक्छ। यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालीन रूपमा बाँझोपन हुन सक्ने सम्भावना रहन्छ। अमानवीय र असुरक्षित गर्भपतनको रोकथाम गर्न, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको गर्भको समस्या निराकरण गर्न तथा महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न पनि सुरक्षित गर्भपतन आवश्यक छ।
पहिलेपहिले असुरक्षित गर्भपतन गरेकै कारण ‘इन्फेक्सन’ बाट मातृमृत्यु हुन्थ्यो, अहिले औषधिभन्दा पनि ‘ब्लिडिङ’ कै कारण मृत्यु हुने गरेको छ। अवाञ्छित गर्भ बोकेपछि जहाँ–जे पायो त्यही औषधि सेवन गर्छन् र अत्यधिक रक्तस्रावले शिथिल अवस्थामा स्वास्थ्यसंस्था आइपुग्छन्। अझ, कोही त अस्पताल पनि आइपुग्न पाउँदैनन्, घरमै ज्यान गुमाउँछन्।
चिकित्सकका अनुसार असुरक्षित गर्भपतनले अत्यधिक रक्तश्राव हुने, औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने, प्वाल पर्ने, सङ्क्रमण हुन सक्ने जोखिम हुन्छ। असुरक्षित रूपमा पटक–पटक गर्भपतन गर्ने महिलामा बाँझोपनाको समस्या हुने र ज्यानै पनि जान सक्छ। तर, मान्यताप्राप्त स्वास्थ्य संस्थामा तालिम लिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए स्वास्थ्यमा खासै असर पर्दैन।
तर, शिक्षित व्यक्ति सूचीकृत डाक्टरसमक्ष पुग्न झन्झट मान्छ, सरकारले निःशुल्क प्रदान गरेको औषधि खानेभन्दा पनि औषधि पसलमा जाने र सहजता खोज्न थाल्छ। औषधि पसलेले डाक्टरको ‘प्रेस्किप्सन’ खोजेमा पनि दबाब सिर्जना गर्ने परिपाटी हाबी छ।
असुरक्षित गर्भपतनका कारण १५ देखि ३५ वर्षसम्मका महिलाको मृत्यु हुन्छ, जबकि त्यो उमेरसमूह भने परिवार, समाज र राज्यका लागि महत्त्वपूर्ण हो। नेपालमा अहिलेसम्म कानुनी मान्यताभित्र रहेर तालिमप्राप्त स्वास्थ्यकर्मी र सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गराएका कसैको पनि मृत्यु भएको छैन। बरु, असुरक्षित गर्भपतनका कारण गर्भवतीको मृत्यु भइरहेको तथ्यांक छ।
यसमा राज्य दोषी छैन। राज्यले त तीन हजारभन्दा बढी तालिमप्राप्त स्वास्थ्यकर्मीलाई ७७ वटै जिल्लामा खटाएर निःशुल्क रूपमा गर्भतपन सेवा दिइरहेको छ। अझ, ऐनमै राखदिँदा पनि सुरक्षित र सुलभ छोडेर मानिसहरू असुरक्षित र महँगो स्वास्थ्यसंस्थामा किन पुगिरहेका छन्? किन अहिले पनि ५२ प्रतिशतभन्दा बढी असुरक्षित गर्भपतन सेवा नेपालीले अंगालीरहेका छन्?
गर्भपतनजस्तो महत्त्वपूर्ण र प्रभाव पार्ने विषयमा सरकार, नागरिक र गैरसरकारी संस्थाहरूले स्रोत परिचालान गर्न आवश्यक छ। हो, व्यक्ति वा दम्पत्तीले परिवार नियोजनका साधन प्रयोग गरेमा गर्भपतनको आवश्यकता पर्दैन। तर, परिवार नियोजनका साधनले गर्भ हुने सम्भावनालाई न्यून पारे पनि निर्मुल नै पार्न सक्छ भन्ने छैन।
त्यसैले पनि सुरक्षित गर्भपतन सेवा जहाँ र जहिले पनि आवश्यक छ। सुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता हुने सम्भावना ज्यादै कम हुन्छ।