jQuery(document).ready(function($){ //
});


डा. ज्ञानेन्द्रमान सिंह कार्की
दुई दशकअघि गर्भपतनलाई कानुनी मान्यता दिइएपछि नेपालमा मातृमृत्युदर निरन्तर रूपमा घट्दो अवस्थामा छ । सन् २००२ अघि गर्भपतनलाई कानुनले अपराध ठहर गरिदिँदा अनिच्छित रूपमा बसेको गर्भलाई लिएर महिलाहरूको जीवनयापन सङ्घर्षमय थियो ।
विशेषगरीः गरिखान धौधौको अवस्थामा रहेका र घाँस–दाउरामा आफ्नो समय व्यतित महिलाहरू । हुनेखाने महिलाहरू भने विदेश पुगेरै भए पनि अनिच्छित गर्भको अन्त्य गर्न सक्थे । झन्, करणी र हाडनाता करणीको सिकार बन्न पुगेका महिलालाई काल नै थियो, गर्भपतनको विषय ।
कानुनी कारबाहीको भयले महिलाहरू आफ्नो गर्भलाई निरन्तरता दिन विवश थिए, भने केहीले जडिबुटीको प्रयोगमार्फत् असुरक्षित रूपमा गर्भपतन गराउन बाध्य थिए । जसकारण मातृमृत्युदरको ‘ग्राफ’ अपेक्षाकृत ढङ्गले घट्न सकेको थिएन ।
कानुनले गर्भपतनलाई खुला गरिदिएपछि मातृमृत्युदर मात्र घटेन महिलामा हुने तत्कालीन र दीर्घकालीन समस्या पनि कम भएको अनुमान गर्न सकिन्छ । यसरी स्वास्थ्य क्षेत्रले फट्को मार्नु हामी स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि धेरै खुसीको कुरा हो ।
तर, स्वतन्त्रताको नाम दिएर गर्भपतनको दुरुपयोग बढ्दा महिलाहरूले विभिन्न स्वास्थ्य जटिलता भोग्नुपरेको छ भने कतिले ज्यानै गुमाउनु परेको अवस्था छ । इन्टरनेटबाट सर्वव्यापी सूचना लिन सक्षम सचेत युवाजमात नै ‘सेटल’ भइनसकेको भन्दै गर्भलाई नकार्ने परिपाटीमा लागिपरेका छन्, त्यसको सिकार भोलि उनीहरू नै हुनुपर्छ ।
युवाजमात अवाञ्छित र इच्छाविपरीतको गर्भ नबसोस् भनेर सचेत छैनन् बरु अन्तिम विकल्पका रूपमा लिनुपर्ने गर्भपतनलाई सहजै अपनाइरहेका छन्, त्यै पनि सिटामोलसरह । गर्भपतनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी र सूचीकृत स्वास्थ्य संस्थासमक्ष पुग्न चाहँदैनन्, उनीहरू ।
धेरै खाएपछि ‘हाजमोला’ खाएर पचाएजस्तो वैध–अवैध निर्क्यौल नगरी मेडिकल हल र फार्मेसीमा सहजै पाइने औषधि खाइदिन्छन्, त्यो पनि विधि नपु¥याई । शारीरिक सम्बन्धमा बसेपछि स्वास्थ्य परीक्षण गरेर आकस्मिक गर्भनिरोधक चक्की (आइपिल) को प्रयोग गर्न सकिन्छ । यसको खतरा गर्भपतनजति हुँदैन पनि ।
मासिक रक्तश्राप रोकिनेबित्तिकै गर्भपतनको तालिम लिएका स्वास्थ्यकर्मीसँग परामर्श गर्न सकिन्छ । तर, शारीरिक सम्बन्धका बेला अवचेत अवस्थामा रहने र ढिलोगरी गर्भपतनको निर्णय लिने मानसिकताले गर्दा उनीहरूले तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्याबाट गुज्रिनुपर्छ ।
अत्यधिक रक्तश्रावजस्ता तत्कालीन समस्यादेखि लिएर पाठेघरमा प्वाल पर्ने र क्यान्सरै हुनेजस्ता समस्या पनि गर्भपतनले निम्त्याउन सक्छ । त्यससँगै बच्चादानीमा हुने सङ्क्रमणका कारण जीवनभर गर्भधारण नहुने समस्या पनि आउन सक्छ ।
जहाँ पायो त्यहीँ शल्यक्रियामार्फत् गर्भपतन गराउँदा भ्रूण पूर्ण रूपमा सफा नहुने र दोहो¥याएर अपरेसन गर्नुपरेका कतिपय घटना पनि छन् । त्यसबाहेक अपरेसन गर्दा बच्चादानी प्वाल पर्ने र भ्रुणको टुक्रा नसामा छिर्न सक्छ । यो अवस्थालाई हामी लल्मोनरी एम्बोलिजम भन्छौं । नसामार्फत् शरीरको रगतमा हुने यस प्रकारको सङ्क्रमणले बिरामीको ज्यान लिन सक्छ ।
सुरक्षित होस् वा असुरक्षित होस् गर्भपतन मानवस्वास्थ्यका लागि सुरक्षित हुँदैन । असुरक्षित गर्भपतनले निश्चय नै स्वास्थ्य समस्या आउँछ नै तर सुरक्षित गर्भपतनका कारण पनि स्वास्थ्य जटिलता आएका केही ‘केस’हरू छन् ।
सबै गर्भपतन सुरक्षित हुँदैनन् । फेरि, गर्भपतन र सुरक्षित गर्भपतन पर्यायबाची शब्द पनि होइनन् । यसैले गर्भपतनसम्म पुग्ने माहोल सिर्जना गर्नुभन्दा परिवार नियोजनका साधनहरू प्रयोगमा व्यापकता बढाउनुपर्छ । यो धारबाट समाज रूपान्तरण गर्न जरुरी छ । यसमै हाम्रो बुद्धिमता रहनजान्छ ।
जति समय हामी गर्भपतन गराउन खर्च गर्छौं, त्यति समय परिवार नियोजनका साधनहरू प्रयोग गर्नमा खर्चियौं भने यसले हाम्रो धनजनको क्षति हुनबाट जोगाउँछ । सुरक्षित शारीरिक सम्बन्ध बनायौं भने भावि दिनमा त्यस्तो दुर्घटना हुँदैन, अनावश्यक दुःख पाउनुबाट पनि जोगिन्छौं ।
हुन त परिवार नियोजनका साधन पनि शतप्रतिशत सुरक्षित हुन्छन् भन्ने छैन । कहिलेकाँही त्यस्ता साधनले धोका पनि दिन सक्छन् । कुनै पनि हालतमा अनिच्छित गर्भ धारण नगर्ने तर अवाञ्चित गर्भ बसिहालेमा आकस्मिक गर्भनिरोधक चक्कीको सेवन गर्नुपर्छ । आफू गर्भवती भएँ भन्ने शङ्का लागेमा स्वास्थ्य परीक्षण गराएर कुन विधिबाट गर्भपतन गर्दा सुरक्षित भइन्छ भने स्वास्थ्यकर्मीसँग परामर्श लिन आवश्यक छ। गर्भपतन गर्ने बाध्यता परिहालेमा सूचीकृत स्वास्थ्यसंस्थामा सूचीकृत सेवा प्रदायक स्वास्थ्यकर्मीबाट यो सेवा लिन सकिन्छ ।
गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर लडाइँ गर्नेहरूले गर्भलाई निरन्तरता दिन नसक्ने अवस्थाकी गर्भवती र करणी तथा हाडनाता करणीबाट बसेको गर्भ अन्त्य गराउनेहरूको आवाज बोलेका थिए । तर, यहाँ जानाजान गरेको भूललाई सच्याउनेहरूले यसको दुरुपयोग गरिरहेका छन् ।
बलात्कारजस्तो जघन्य अपराध उहिल्यैदेखि हाम्रो समाजमा यथावत छ । हिजो, आज र भोलि पनि बलात्कार हाम्र्रो समाजबाट उन्मुक्त हुँदैन । तर, बलात्कारको सिकार भइसकेपछि ‘प्रेगनेन्ट’ भएँ भनेर पीडितहरूले आशङ्का गर्नुपर्छ । र, बेलैमा स्वास्थ्यजाँच गराउनुपर्छ । हुन त बलात्कारको विषयमा हदम्यादजस्ता कुराले हस्तक्षेप गर्न सक्छ ।
अहिले युवाजमातमा औषधि सेवन गरेर अनिच्छित गर्भको अन्त्य गर्ने लहड छ । यसले भावि दिनमा हाम्रो शरीरमा नकारात्मक असर पार्न सक्छ । ती औषधिको सेवनले गर्दा अत्यधिक रक्तश्राव भएर अस्पाताल आउने बिरामी पनि हामीले देखेकै हो । कोही रक्तश्रावकै कारण अस्पतालसम्म आइनपुग्दै बीचैबाट अस्ताएका पनि छन् ।
विशेषगरी गाउँघरतिर साधारण अनमि ट्रेनिङ गरेका अथवा स्टाफ नर्सको तालिम लिएका स्वास्थ्यकर्मीले आफ्नो मेडिकल–फार्मेसीमा ‘यहाँ सुरक्षित रूपमा गर्भपतन गरिन्छ’ भनेर बोर्ड राखेका हुन्छन् । तर, रकमको लोभमा मानवस्वास्थ्यसँग खेलवाड गर्ने त्यस्ता स्वास्थ्य संस्थामा नगएर सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्छ । जहाँ, आइसियु होस्, जहाँ दुई–चार जना गाइनोकोलोजिस्ट डाक्टर हुन्, जहाँ ब्लड बैङ्कको सुबिधा होस् । हामी गरिब छौं होला, स्वास्थ्य उपचार गराउन नसक्ने छौं होला । तर, हामी भेँडा होइन नि!
यसैले मेरो एउटै सुझाव छ, आफ्नो परिवक्वता हेरेरमात्र कसैसँग शारीरिक सम्बन्धमा बस्नुहोस् । शारीरिक सम्बन्धमा बस्दा भने चनाखो बन्नुहोस् । परिवार नियोजनका साधनहरू प्रयोग गर्न नहिच्किाउनुहोस् । तर, त्यसको उपलब्धता नभएमा आकस्मिक गर्भनिरोधक चक्की सेवन गर्नुहोस् । र, गर्भवती भएको शङ्का भएमा ३६ घण्टासम्म प्रयोग गर्न मिल्ने औषधि सेवन गर्नुहोस् ।
गर्भवती भएको पक्का–पक्की भएमा भरिसक्दो आफ्नो गर्भलाई निरन्तरता दिनुहोस् । तर, गर्भवस्थालाई निरन्तरता दिँदा आमा वा बच्चाको स्वाथ्य जटिलता निम्तिने जस्तो देखिएमा मात्र गर्भपतन गराउनुहोस् । र, गर्भपतन गराउँदा सूचीकृत–सुबिधासम्पन्न स्वास्थ संस्थाबाट तालिमप्राप्त चिकित्सकको सहायतामा सुरक्षित रूपमा गराउनुहोस् ।
(विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, बूढीगङ्गाका अध्यक्ष तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कार्कीसँग सुलभराज बरालले गरेको कुराकानीमा आधारित ।)

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय