प्रयोग गर्दा प्रर्दशनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ का २१ वर्षि वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षे सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर मृत्यु भएको निष्कर्ष समेत आयोगले निकालेको छ । रावतको छातीमा भने अश्रुग्यासको सेलले लागेर उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
गत साउनमा कोरियाको रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरूले प्रदर्शन गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको गाडी प्रर्दशनस्थल पुगेपछि उनीहरुले आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिने नाममा प्रहरीले वैकल्पिक उपाय अपनाउन छोडेर हवाई फायर, गोली प्रहारलगायत अन्धाधुन्ध बल प्रयोग गर्दा प्रदर्शनकारी तर्फका दुई जनाले ज्यान गुमाउन पुगेको भन्दै सरकारको समेत आलोचना भएको थियो । सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
सरकारले छानबिन गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्न पौडेलको अध्यक्षतामा गठन गरेको आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए । आयोगले पुस २० देखि जाँचबुझ थालेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिमा घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य १६ जनाको बयान कागज गरेको उल्लेख छ । घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एंव अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ ।
ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं. गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवं प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।