
दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ध्यानाकर्षण पत्र पठाइएका छन् । दमक नगरपालिकाको बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा अण्डरग्राउण्ड ढल निकास आयोजना तथा सडक कालोपत्रे आयोजना सञ्चालन गर्नका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत तहाँ विभाग तथा त्यस निर्माण व्यवसायी श्री. एस.सी. स्वामीनारायण आशिर्वाद जे.भी. बीच सम्झौता भएकोमा उक्त निर्माण कार्य हालसम्म पनि पूरा हुन नसकी दैनिक आवतजावत तथा यातायात एवम् दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पुगेको छ। स्थानीय सरकार आम नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएको र जनताको सहज पहुँच हुने भएको हुँदा नगरभित्र पूर्वनिर्मित सडक संरचनालाई भत्काई निर्माण व्यवसायीले सडकको बीचभागमा नै खाल्डाखुल्डी पारेर अलपत्र रुपमा निर्माण कार्यलाई छोडिदिँदा सो बाट स्थानीयवासीहरुले खेप्नुपरेको सास्ती एवम् असुविधाका सम्बन्धमा स्थानीय नागरिकहरु, दमक उद्योग वाणिज्य संघ, टोल विकास संस्थाहरु तथा दमक नगरपालिकालाई कार्यक्षेत्र बनाएर विकास निर्माणका कार्य तथा गतिविधि सञ्चालन गर्ने संघसस्थाहरु समेतबाट प्रायः दैनिकजसो यस नगरपालिकामा डेलिगेसन प्राप्त हुन आइरहेको नगर प्रमुख थापाले जानकारी दिए ।
सो सम्बन्धमा कैयौं पटक उक्त निर्माण व्यवसायीलाई पत्राचार गरिएको र तहाँ विभागमा तथा मन्त्रालयमा समेत सो को बोधार्थ दिइएको व्यहोरा समेत अनुरोध गरेका छन् । पटकपटकको लिखित पत्राचार, मौखिक जानकारी गराएपश्चात् केही स्थानमा निर्माण कार्य भएकोमा कालोपत्रे गरिएको ठाउँहरु भ्वाङ पर्ने तथा यति छोटो समयमै खाल्डो परिसकेको अवस्था समेत अवगत गराउन चाहन्छौँ। दमक नगरपालिका, वडा नं. ६ स्थित हनुमान मन्दिर अगाडि उक्त आयोजना अन्तर्गत गरिएको कालोपत्रे बीचबाटोमै ठूलो भ्वाङ परेको छ भने दमक १ स्थित डि टाउन होटल अगाडिको बाटोमा खाल्डाखुल्डी परिसकेको छ। उक्त सम्बन्धमा तहाँ विभागबाट अनुगमन निरिक्षण भइरहेको होला भन्ने अपेक्षा गरेका छन्। दैनिक रुपमा हजारौंको संख्यामा नागरिकहरुको चाप रहने दमक ६ स्थित सब्जीबजार, व्यापारिक तथा यातायातका दृष्टिकोणले अति महत्वपूर्ण दमक ७ स्थित पशुहाटदेखि उत्तरको सडक तथा दमक ८ का विभिन्न सडकहरु साविकमा कालोपत्रे भएको सडक खनेर पुनः कालोपत्रे नगर्दा वर्षात्का समयमा पानी जम्ने, सडक हिलाम्य हुने तथा साँझविहान आवतजावत गर्दा सवारी दुर्घटनाको जोखिम समेत अत्यन्तै उच्च रहेको हुँदा नागरिकहरुको भावना, आक्रोश तथा जनगुनासो जायज देखिन्छ र आगामी दिनहरुमा सो कुराहरुले थप जटिल रुप लिन सक्ने सम्भावनालाई नकार्न नसकिने अवस्था रहन्छ । तसर्थ उक्त स्थानहरुमा तत्कालै गुणस्तरीय कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने व्यवस्था मिलाइदिनु हुन साथै नजिकिंदै गरेको चाडपर्वहरुलाई ध्यानमा राखी, नगरवासी तथा उक्त पूर्वाधार प्रयोग गर्ने सम्पूर्ण नागरिकहरुलाई सहजतापूर्वक आवतजावत गरी नियमित दैनिक कार्यसम्पादन गर्न पाउने अधिकारबाट बञ्चित नगर्नुहुन समेत यसै पत्रमार्फत अनुरोध गर्दै अबिलम्ब निर्माण कार्य सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई निर्देशन दिनुहुन तथा आवश्यक सहजीकरण समेत गरिदिनु हुन अनुरोध गर्दै ध्यानाकर्षण पत्र पठाइएका हुन् जस्मा खानेपानी मन्त्रालयलाई समेत बोधार्थ गरिएको छ।