पथरी शनिश्चरे समाचारदाता, साउन
इलाका प्रहरी कार्यालय पथरीले बिसाक्त माछालाई नियन्त्रणमा लिएर डिस्पोज गरेको छ । मृतकको लाश नकुहिने केमिकल “फर्मालिन” प्रयोग गरेर लुकाई छिपाई भारतबाट ल्याएको १ सय १३ केजी माछा प्रहरीले नियन्त्रणमा लिएर डिस्पोज गरेको हो । पथरी शनिश्चरे नगरपालिका वडा न. १ को वडा अध्यक्ष भिमकुमार राई, पथरी उद्योग बाणिज्य संघको अध्यक्ष दिपक बस्नेत, पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्ट, शान्ति सामुदायिक वन उपभोक्ता, समुहका अध्यक्ष कुलमणि गुरुङ रोहबरमा माछालाई खाल्डो खनेर गाडेर डिस्पोज गरेको थियो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन विक्रम दाहालका अनुसार पथरी बजार क्षेत्रमा फर्मालिन प्रयोग गरेको माछा बेचबिखन गर्न ल्याउदै गरेको अवस्थामा पथरी शनिश्चरे- १ फिल्महल लाइनबाट नियन्त्रणमा लिएरको जानकारी दिनुभयो । फर्मालिन प्रयोग गरेको माछा खाँदा स्वास्थ्यमा गम्भीर असर गर्ने र सरकारले प्रतिबन्ध गरेको हुँदा नियन्त्रणमा लिइएको डिएस्पी दाहालले जनाए । पथरी बजारमा माछाको ब्यापार गरिरहेका सम्पूर्ण व्यापारीहरुलाई बोलाएर नबेच्न समेत सूचना गरिएकोे डिएस्पी दाहालको भनाई रहेको छ । फर्मालिन नामक केमिकल प्रयोग गरिएको माछा खाँदा मृगौला बिग्रने, बाँझोपन आउने क्यान्सर, वातावरणमा असर गर्ने पथरी शनिश्चरे नगरपालिका कार्यालय पशुपक्षी शाखाका बिशेषज्ञ जनक चौधरीले बताउनु भयाे।