विराटनगर। कोशी सुधार अभियानका संयोजक तथा युवा नेता अभिषेक गिरीले इस्लाम धर्मालम्बीहरूको प्रमुख पर्व ‘मोहम्मद जयन्ती’को अवसरमा मुस्लिम समुदायलाई पानी र बिस्कुट वितरण गर्दै आपसी भाईचारा र सद्भावको सन्देश दिएका छन्। “सेवा नै धर्म हो” भन्ने नारासहित, विजुली अफिस अगाडि आयोजित यस कार्यक्रममा गिरीले धार्मिक एकता र सम्मानको महत्त्वलाई उजागर गरे। कार्यक्रमका दौरान गिरीले, “मुस्लिम समुदायको यो पर्वमा हिन्दू धर्मावलम्बी भएर पनि सहानुभूति र एक्यबद्धता देखाउनु हाम्रो कर्तव्य हो,” भन्दै आपसी सद्भावलाई बलियो बनाउन धर्महरूले एकअर्काको सम्मान गर्नुपर्ने बताए। उनका अनुसार, यस प्रकारका क्रियाकलापले समाजमा धार्मिक सहिष्णुता र भाईचारा बढाउन सहयोग
पुर्याउँछ। गिरीले मुस्लिम पर्वहरूमा लामो समयदेखि एकता र भाईचारा सन्देश फैलाउने प्रयास गरिरहेका छन्। मोहम्मद जयन्तीको महत्त्व इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सवको रूपमा मनाइने ‘मोहम्मद जयन्ती’, जसलाई ‘इद मिलादुननबी’ र १२ रबी अव्वलका नामले पनि चिनिन्छ, मुस्लिम समुदायमा धूमधामका साथ मनाइन्छ। यस अवसरमा मुस्लिम समुदायले धार्मिक र सामाजिक गतिविधिहरूको आयोजना गर्दै एकअर्कामा शुभकामना साटासाट गर्छन्। मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायले मस्जिदहरूमा कुरान पाठ, हजरत मोहम्मदका उपदेशहरूको स्मरण, र सामूहिक भोजनका साथै र्यालीको आयोजना गर्छन्। यस पर्वले आपसी एकता र भाईचाराको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। यो पर्व नेपाली मुस्लिम समुदायका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, र यसले उनीहरूलाई एकताको सूत्रमा बाँध्न मद्दत पुर्याउँछ। यस पर्वको समयमा गरिब, विपन्न, असक्त, र अनाथलाई दान दिने, इस्लामिक झण्डा फहराउने, घर–आँगन सफा गर्ने, र दीप प्रज्वलन गर्ने परम्परा छ। सरकारद्वारा सार्वजनिक बिदा मोहम्मद जयन्तीको अवसरमा नेपाल सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा पनि दिएको छ। यो पर्वको अवसरमा विभिन्न संघसंस्थाहरूले पनि विभिन्न सामाजिक सेवाहरूको आयोजना गर्ने गरेका छन्। गिरीजस्ता युवा नेता तथा समाजसेवीहरूको यस किसिमको योगदानले धार्मिक विविधता भएको देशमा आपसी सद्भाव र एकताको महत्त्वलाई झल्काउने र सुदृढ बनाउने काम गर्छ। “हामी सबै धर्मको सम्मान गरेर मात्र समाजमा साँचो भाईचारा कायम गर्न सक्छौं,” गिरीले भने।