भोजराज घिमिरे।। दमक अनलाइन
पथरी शनिश्चरे, असाेज ३ – अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। पथरी शनिश्चरे नगरपालिकाकै एकमात्र महिलाहरूको साझा सहकारीको रूपमा परिचित यस संस्थाले आफ्नै निजी भवनमा सभाको आयोजना गरेको हो।
संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल २,०२४ शेयर सदस्य रहेको जानकारी गराउनुभयो। सो अवसरमा उहाँले शेयर पुँजीतर्फ १ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ, कुल बचत १० करोड ५१ लाख १९ हजार १०१ रुपैयाँ र ९ करोड १४ लाख १७ हजार ६ सय ४० रुपैयाँ ऋण लगानी भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
आगामी वर्षका लागि संस्थाले जेष्ठ महिला सदस्य सम्मान, एकल महिला सदस्य सम्मान, सहकारीको स्थापना दिवस मनाउने, उत्कृष्ट बचतकर्ता र कारोबारकर्ता सम्मान जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना अघि सारेको छ।
संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति र आयकरपछिको १८ लाख ७१ हजार ११५ रुपैयाँ शुद्ध नाफा भएको जानकारी दिनुभयो।
साधारण सभाको उद्घाटन संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र पूर्वअध्यक्ष वीना राईले संयुक्त रूपमा गर्नुभएको थियो। सोही अवसरमा जेष्ठ सेयर सदस्य, एकल महिला, उत्कृष्ट बालबचतकर्ता तथा ऋण कारोबारकर्ताहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो।
सभामा संस्थाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।