
भोजराज घिमिरे ।। माघ १
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आग्रह गरेका छन्। बेलायतको संसद भवन वेस्टमिन्स्टरमा आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै गोर्खा सैनिकहरूको योगदानको विशेष प्रशंसा गरेका हुन्।
उनले सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु स्थापित गराएको ऐतिहासिक महत्त्वको चर्चा गरे। नेता कोइरालाले नेपालका गोर्खा सैनिकहरूले दुई विश्वयुद्धमा देखाएको समर्पण र बलिदानको प्रशंसा गर्दै उनीहरूको जायज माग बेलायत सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।
“गोर्खा सैनिकहरूको योगदान हाम्रो सम्बन्धको आधारस्तम्भ हो। बेलायतले उनीहरूको समर्पणको उचित सम्मान गर्दै माग सम्बोधन गरिदिनु आवश्यक छ,” उनले भने।
डा. कोइरालाले नेपालमा संकटका समयमा बेलायतले गरेको सहयोगप्रति आभार प्रकट गरे। उनले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारीका क्रममा बेलायतले पुर्याएको सहायता नेपालका लागि महत्त्वपूर्ण भएको बताए।
नेपालमा लगानीको अपार सम्भावना
नेता कोइरालाले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, र प्रविधि क्षेत्रमा लगानीका अपार सम्भावना रहेको उल्लेख गर्दै बेलायतका उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न आग्रह गरे। “नेपालले वैदेशिक लगानी मैत्री वातावरण तयार गरेको छ। स्वच्छ ऊर्जा, कृषि र पर्यटन क्षेत्रमा बेलायती लगानीले दुबै देशलाई फाइदा पुर्याउनेछ,” उनले भने।
पर्यावरणीय सहयोगमा अपेक्षा
नेता कोइरालाले नेपाल जस्तो भू-परिवेष्ठित मुलुकले विश्वव्यापी वातावरणीय प्रभावमा योगदान नगरे पनि जलवायु परिवर्तनबाट धेरै प्रभावित भएको बताए। हिमालयन पारिस्थितिक प्रणालीको संरक्षणका लागि बेलायतको निरन्तर सहयोगको अपेक्षा पनि उनले व्यक्त गरे।
कार्यक्रममा बेलायतका उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमस र एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्टले पनि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।
नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण, व्यापार, र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिनुपर्नेमा नेता कोइरालाले जोड दिए। उनले लोकतन्त्र र शान्तिको मूल्यमान्यता दुई देशको सम्बन्धको बलियो आधार भएको पनि उल्लेख गरे।