jQuery(document).ready(function($){ //
});

रगत शरीरमा बग्ने एक जटिल जैविक रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । जसमा लगभग ५५% प्लाज्मा र ४५% रक्तकोषहरु रहेका हुन्छन।रगतले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन र अन्य आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ साथै कार्वनडाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने बस्तुहरुलाइ बाहिर निष्कासन गर्न समेत मद्दत गर्दछ। प्लाज्मामा पानी र विभिन्न पोषक तत्वहरु हुन्छन भने रक्त कोष हरु राता रक्त कोष (RBC वा एरिथ्रोसाइट्स), सेता रक्त कोष ( WBC वा ल्युकोसाइट्स) र प्लेटलेटस ( थ्रोम्बोसाइट्स)बाट बनेका हुन्छन।

राता रक्तकोषले फोक्सोबाट अक्सिजनलाई शरीरका कोषहरुमा पुर्याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ । सेतो रक्तकोषले रोगसँग लड्ने र शरीरको प्रतिरक्षा गर्छ । यस्तै, प्लेटलेट्सले रक्तस्राव भएमा रगत जमाउन मद्दत गर्छ । हाम्रो शरिरमा रगत नभएमा मानव मस्तिष्क ४ मिनेटमा र मुटु ६ घण्टामा निस्क्रिय हुन्छ ।यस्तो महत्वपूर्ण रगत पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तर, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ।हेर्दा उस्तै देखिने रगतको रङ रातो भएपनि  व्यक्ति अनुसार यसको समूह चाहिं फरक-फरक हुन्छ जसले गर्दा कसैलाई रगत चाहिएमा अर्को व्यक्तिको रगत नमिल्न सक्छ। के हो त रक्त समूह भनेको ? रगतको समूह (Blood Group) छुट्याउने श्रेय अस्ट्रियाका बैज्ञानिक Karl Landsteiner लाई जान्छ। उनले सर्बप्रथम १९०१ मा A, B, र O रगत समूह, र त्यसको केही पछि AB समूह पत्ता लगाएका हुन्। रगत समूह पत्ता लगाएको कारणले नै उनले सन १९३० नोबेल पुरस्कार प्राप्त गरेका थिए। राता रक्त कोष(RBC) को सतहमा हुने एक प्रकारको तत्व ( Antigens) को आधारमा रगतको समूह छुट्याइन्छ।

कुनै पनि व्यक्तिको रगतमा गर्भैदेखि या A प्रकारका Antigens हुन्छन, या त B प्रकारका Antigens हुन्छन, वा AB दुवै प्रकारका Antigens हुन्छन, या त दुवै प्रकारका Antigens हुँदैनन्।यदि कुनै व्यक्तिको रक्त कोषमा A प्रकारका Antigens मात्र छन् भने उसको रगत समूह A भन्ने बुझ्नु पर्दछ, B प्रकारका Antigens मात्र छन् भने B समूह, AB दुवै Antigens छन् भने AB समूह, र A वा B कुनै Antigen पनि छैन भने उसको रगत समूह O भन्ने बुझ्नु पर्दछ। के हो पोजिटिभ (+) र नेगेटिभ (-) समूह? राता रक्त कोषहरुमा A तथा B को अलावा अरु पनि महत्वपूर्ण Antigens हुन्छन्। रगत समूह छुट्याउनको लागी ती मध्ये Rh-Antigens को अवस्था पनि जान्न आवश्यक पर्दछ।यी Antigen हरु सर्बप्रथम rhesus monkey मा पत्ता लगाइएकाले Rh-antigen भन्ने गरिन्छ।राता रक्तकोष मा Rh-antigen नभएमा Rh-negative र भएमा Rh-Positive हुन्छ। त्यसैको आधारमा रगत समूह negative र positive हुन्छ। जस्तै:-यदि कसैको रगत समूह O+ve छ भने उसको रगतमा A तथा B कुनै पनि प्रकारका Antigens छैनन, तर Rh-antigen चाहिँ छ भन्ने बुझिन्छ।

दुर्लभ रक्त समूह के हो? विश्व जनसंख्या लाई हेर्दा लगभग ८५% मानिसहरुमा पोजिटिभ (+)रक्त समूह र लगभग १५% मानिसहरुमा नेगेटिभ (-) रक्त समूह पाइएको छ। यस तथ्यांक लाई हेर्दा Rh -antigen नभएका सबै रक्त समूह लाई दुर्लभ रक्त समूह भन्ने गरिन्छ। स्टानफोर्ड स्कूल अफ मेडिसिन’का अनुसार, विश्वको जनसङ्ख्यामा विभिन्न रक्तसमूह भएका निम्न प्रतिशत मानिसहरू रहेका छन्:- O-positive: ३७.४% A-positive: ३५.७% B-positive: ८.५% AB-positive: ३.४% O-negative: ६.६% A-negative: ६.३% B-negative: १.५% AB-negative: ०.६% कुन रगत कस्लाइ दिन सकिन्छ त? कुनै व्यक्तिको रगतमा भएका एण्टिजेनहरूको उपस्थिति र अनुपस्थितिले कुनै अर्को व्यक्तिमा सो रगत राख्दा प्रतिरोध गर्छ या गर्दैन भन्ने कुरालाई निर्धारण गर्दछ । कुनै बिरामीलाई अमिल्दो रक्तसमूह दिइयो भने उसको शरीरले खतरनाक प्रतिक्रिया दिन्छ । उसको रगतमा भएको प्रतिरोध प्रणालीले बाहिरबाट आएका रक्तकोषको अपरिचित एण्टिजेनलाई विरोध गर्दछ र आक्रमण गरेर नष्ट गरिदिन्छ । उदाहरणका लागि, रक्तसमूह A भएको बिरामीलाई रक्तसमूह B भएको रगत दिने हो भने, उसको शरीरले त्यस बाह्य रगतलाई नष्ट गर्नको लागि प्रतिरोध क्षमता विकास गर्न थाल्दछ ।

अनि अमिल्दो बाह्य रगतलाई मुटुमा प्रवेश गर्न नदिनको लागि रक्तनसाहरू टालिदिन्छ, जसको कारण व्यक्तिको मृत्युसमेत हुन सक्छ । त्यसैले बिरामीको रगत ए पोजेटिभ छ भने उनीहरुलाई ए पोजेटिभ रगत नै दिनुपर्छ । रक्तदान गर्दा बिरामीको रक्तसमूह र दाताको रक्तसमूह मिल्दो हुनुपर्छ । यसमा हेलचेक्र्याइँ गर्नु हुदैन। अमिल्दो रगत दिएमा बिरामीको ज्यान जान सक्छ । यदि आकस्मिक अवस्थाको सृजना भएमा बिरामीलाई O समूहको रगत दिन सकिन्छ, किनभने 0 समूहको रगत मा कुनै antigen नहुने भएकाले सबै रक्तसमूहले स्वीकार गर्दछ । तथापी, यसको पनि खतरा भने आफ्नै ठाउँमा छ ।

कुनै बिरामीलाई फरक समूहको रगत दान गरियो भने त्यो म्याच नभई रियाक्सन हुन सक्छ । उसको शरीरले रगत स्विकार गर्दैन र क्षति हुन सक्छ ।(स्रोत:- विभिन्न वेबसाइट हरु)

लेखक: बासुदेब काफ्ले, उप प्राध्यापक दमक बहुमुखी क्याम्पस, संयोजक, अनुशासन समिती जीवन चक्र समाज ,नेपाल, संयोजक, नेपाल दुर्लभ रक्त समुदाय ,झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय