
पाथीभरा – प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आएका भक्तजनबाट रु १ करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका अनुसार, यस अवधिमा एक लाख छ हजार ६२३ भक्तजनले मन्दिरको दर्शन गरेका छन्। चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित भेटीघाटी र दर्शनार्थीको सङ्ख्या सार्वजनिक गर्दै समितिले पाथीभरा धार्मिक आस्थाको केन्द्र भएको र यहाँ लाखौँ भक्तजन आउने गरेको उल्लेख गरेको छ। पाथीभरा मन्दिरमा विशेष गरी चैत, वैशाख, साउन र दशैंको समयमा भक्तजनको भीड बढ्ने गर्दछ। यस क्षेत्रको धार्मिक, सांस्कृतिक, र पर्यटन महत्त्वका कारण मन्दिरले भक्तजनलाई आकर्षित गर्दै आएको छ। समितिले मन्दिर क्षेत्रको संरक्षण र सेवा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सङ्कलित रकमलाई उचित योजनामा खर्च गर्ने बताएको छ।