
वन मन्त्रालयले रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। माघ १० गतेदेखि लागू हुने गरी एक वर्षका लागि यी जनावरलाई हानिकारक सूचीमा राखिएको छ।
यो घोषणासँगै खेतबारीमा यस्ता जनावरले नोक्सानी गर्दा लखेट्दा वा मार्दा किसानले कानुनी कारबाही भोग्नुपर्ने छैन। मन्त्रालयका अनुसार, यसअघि पनि बँदेललाई २०८० मंसिर ७ गते एक वर्षका लागि कृषि हानिकारक जनावर घोषणा गरिएको थियो।
किसानहरूको व्यापक गुनासोका आधारमा रातो बाँदरलाई पनि यस सूचीमा समावेश गरिएको हो। रातो बाँदर र बँदेलका कारण खेतीबालीमा व्यापक क्षति हुने गरेको किसानहरूको गुनासो छ।
यस निर्णयले कृषि क्षेत्रमा राहत पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। तर, दीर्घकालीन रूपमा वन्यजन्तु संरक्षणका लागि थप रणनीतिहरू अपनाउनुपर्ने आवश्यकतामा विज्ञहरूले जोड दिएका छन्।
मन्त्रालयको आग्रह मन्त्रालयले किसानहरूलाई यस्ता जनावरहरूको नियन्त्रण गर्दा वातावरण र जैविक विविधतामा असर कम गर्न सचेत रहन आग्रह गरेको छ।
जनावर नियन्त्रणका लागि सामूहिक प्रयास र दीर्घकालीन योजनाको विकास गर्न पनि मन्त्रालयले स्थानीय तहलाई आह्वान गरेको छ।