
सुनसरी, माघ १६ – विज्ञान, अन्तरिक्ष र रोबोटिक्समा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि लक्षित Science, Space & Robotics (SSR) Camp आजदेखि सुनसरीको बर्जु–५, शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टर नेपालमा सुरु भएको छ। उक्त शिविरको उद्घाटन सम्माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूले गर्नुभएको छ।
तीन दिनसम्म सञ्चालन हुने यो शिविरमा विज्ञान, प्रविधि, अन्तरिक्ष अनुसन्धान र रोबोटिक्ससम्बन्धी विभिन्न कार्यशाला, प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रमहरू समावेश गरिएका छन्। आयोजक एभरेष्ट साइन्स सेन्टर नेपाल परिवारका अनुसार शिविरमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्नेहरू सहभागी भएका छन्।
कार्यक्रममा विज्ञान तथा प्रविधिको महत्त्व, नेपालमा अन्तरिक्ष तथा रोबोटिक्स अनुसन्धानको सम्भावना, नवीनतम आविष्कार र प्रविधिको प्रयोगबारे जानकारी प्रदान गरिने छ। साथै, सहभागीहरूलाई प्रयोगात्मक प्रशिक्षण तथा रोबोट निर्माणसम्बन्धी व्यावहारिक ज्ञान दिइने आयोजकले जनाएको छ।
शिविर माघ १६ देखि १८ गते (January 29-31, 2025) सम्म चल्नेछ। आयोजक पक्षले विज्ञान र प्रविधिमा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।