
ताप्लेजुङ, माघ १७ – ताप्लेजुङका प्रमुख छ राजनीतिक दलहरूले पाथीभरा मुक्कुमलुङ क्षेत्रमा उत्पन्न असहज परिस्थितिको समाधानका लागि वार्ता र संवादमार्फत सहमति खोज्न आह्वान गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (लिम्बूवान) ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष, राज्य पक्ष, र केवलकार निर्माण पक्षबीच संवाद गरी समस्या समाधान गर्न आग्रह गरेका हुन्।
संयुक्त विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सबै पक्षलाई अनुरोध गरिएको छ। साथै, माघ १२ गते पाथीभरा क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
तीन बुँदामा जारी विज्ञप्तिमा काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री, रास्वपाका जिल्ला उपसभापति दावा शेर्पा, नेकपा एसका जिल्ला सचिव मोहन न्यौपाने र नेकपा लिम्बूवान प्रदेश कमिटी सदस्य अभिषेक सी को हस्ताक्षर रहेको छ।
राजनीतिक दलहरूले ताप्लेजुङमा लगानीमैत्री वातावरण निर्माणका लागि स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई शान्तिपूर्ण संवादबाट समाधान खोज्न अपिल गरेका छन्।