

ताप्लेजुङ — ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार दिउँसो सामान्य वर्षासँगै हल्का हिमपात भएको छ।
समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ। हिमपातपछि मौसम चिसिएको छ भने वर्षाका कारण किसानहरू लाभान्वित भएका छन्। “जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्,” महतले बताए।
पाथीभरा मन्दिर नेपालका प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो, जहाँ हरेक वर्ष हजारौँ श्रद्धालुहरू दर्शन गर्न पुग्छन्। हिमपातले यात्रा केही कठिन बनाए पनि भक्तजन र पर्यटकहरूका लागि यो दृश्य रमणीय बन्ने गरेको छ।