
दमक, झापा – २०८२ वैशाख ६
नेपाल विद्यार्थी संघ, दमक बहुमुखी क्याम्पस इकाइ समितिले आज दमक ट्राफिक प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत विभिन्न स्थानबाट दमक बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूले सार्वजनिक यातायातमा हुने असुविधा र ढिलाइका कारण भोगिरहेको समस्या समाधानका लागि सहयोगको आग्रह गरिएको छ।
सार्वजनिक सवारी साधनको प्रयोग गर्दा नियमितरूपमा आइरहेका ढिलाइ र भीडभाडका कारण विद्यार्थीहरूको पठनपाठनमा प्रतिकूल असर परेको भन्दै संघले बिहान ८:०० बजेदेखि १० बजे र बेलुक ४ बजेदेखि ५ सम्म ट्राफिक प्रहरीमार्फत सार्वजनिक सवारी व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको हो।
ज्ञापनपत्र नेपाल विद्यार्थी संघ इकाइ समिति अध्यक्ष सुनिल राई र सचिव मदन भट्टराईले हस्ताक्षर गरी बुझाएका हुन्। उनीहरूले विद्यार्थीहरूको शिक्षा यात्रा सहज बनाउन ट्राफिक कार्यालयको सकारात्मक पहल आवश्यक रहेको बताएका छन्।