jQuery(document).ready(function($){ //
});

तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ
तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ 
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ
तँँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाउँ भन्छ
ए बाबु ! कुरो बुझ है,
उद्योग नखोल्, पार्टी खोल् ।

तँ प्रविधि आयात गर्लास्, उ राजनीति आयात गर्छ
तँ नमुना विदेशी सामान देखाउलास्, ऊ नमुना विदेशी नेता देखाउँछ
तँ भएको नीति नियम मानौं भन्लास्, ऊ संबिधान नै  फेरौं भन्छ
तँ उद्योग बलियो बनाऊँ भन्लास्, ऊ पार्टी बलियो बनाऊँ भन्छ
जनतालाई धनी बन्न कसले दिँदैन ? बुझ हैं,
उद्योग नखोल्, पार्टी खोल् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तँ कर्तव्यका कुरा गर्लास्, उ अधिकारका कुरा गर्छ
तँ काम सिकाउलास्, ऊ सिद्धान्त सिकाउँछ
तँ अनुशासन खोज्लास्, उ त्यसमा दमन र दासत्व भेट्छ
तँ व्यक्ति व्यवस्थाका कुरा गर्लास्, ऊ राज्य व्यवस्थाका कुरा गर्छ
ए बाबु, घुस र करको चेपुवामा परेर मर्लास् है, 
उद्योग नखोल्, पार्टी खोल् ।

तँ उत्पादन बढाउँ भन्लास्, ऊ आन्दोलन चर्काऊँ भन्छ 
तँ काम गर्न बोलाउलास्, ऊ जुलुसमा उफ्रन बोलाउँछ 
तँ सामान निर्यात गर्ने भन्लास, ऊ श्रमिक नै  निर्यात गर्छ
तँ विदेशीसँग प्रतिस्पर्धा गर्लास्, ऊ विदेशीको चाकडी गर्छ
ए बाबु, जे जे सिद्धान्त पढिस् बिर्सिदे है,
उद्योग नखोल्, पार्टी खोल् ।

तँ आफूलाई उद्योगी भन्लास्, उ तँलाई गरिबमारा शोषक भन्छ
तँ मानिसलाई क्षमता अनुसार वर्गीकृत गर्लास्, उ सबै समान भन्छ
तँ मजदुरको जात, वर्ग, लिङ्ग विभेद नदेख्लास्, उ त्यही मात्रै देख्छ
तँ २०८०, ९० र २१०० का कुरा गर्लास्, 
ऊ २००७, १७, ३६, ४६ र ६२ का कुरा गर्छ
काम लाग्ने सिद्धान्त सिक्न आमसभामा जाने गर् है बाबु,
जुलुस आन्दोलन र क्रान्तिमा भाग लिन जाने गर है बाबु 
उद्योग नखोल्, पार्टी खोल् ।

तँ सबैको गाली खालास्, ऊ सबैको ताली खान्छ
तँ आफ्नो उद्योगमा ताला देख्लास्, उ आफ्नो गलामा माला भेट्छ
तँ टाट उल्टिएलास्, ऊ धनाढ्य पल्टिएला
तँ खोरमा पस्लास्, उ दरबारमा पस्छ ।
अनि तेरो बुद्धी फिर्ला–
तँ उसको कार्यकर्ता बन्नै पर्ने अवस्था होला, ऊ तेरो नेता बन्ला
तँ पार्टीको बँधुवा मजदुर बन्लास्, ऊ तेरो मुक्तिदाता सामन्त बन्ला
तँ सडक तताउलास्, ऊ कुर्सी तताउला
तँ अज्ञात सहिद बन्लास्, ऊ महान नेता बन्ला
जनता गरिब र आफू धनी हुने बाटो हिँड है बाबु, 
उद्योग नखोल पार्टी खोल् 
भनेको मान है बाबु,
उद्योग नखोल्, पार्टी खोल् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय