
।। दिनेश पौडेल।।गौरादह/झापा
५ लिटरको घैला छाप भएको तोरीको तेललाई कति पर्ला ? १०८० रुपैयाँ अथवा धेरैमा ११०० रुपैयाँ सम्ममा किन्नु भएको होला ! तर, गौरादहको शुभलक्ष्मी सहकारी संस्थाद्वारा संचालित सहकारी पसलले पाँच लिटर तौल भएको घैला छाप तोरीको तेललाई रु ११२५ मा बिक्रि गर्दै आएको पाईएको छ ।
शेयर सदस्यलाई सहुलियत प्रदान गर्ने उद्देश्यले खोलिएको पसलमा नै ठगि गरेको पाईएको हो ।
‘हामीलाई कुपन मार्फत खरिद गर्दा सहुलियत हुन्छ भनेर किनियो, तर बाहिरको भन्दा ज्यादा पैसा पर्यो’ सहकारी पसलबाट खाने तेल किनेर फर्किएका एक शेयर सदस्यले भने ।
उनले घैला छाप तोरी तेलमा आफु ठगिएको बताए । उनि भन्छन, ‘मैले तेल किनेको हु । यो महँगो पर्यो । अरु सामान पनि त् यस्तै होला ।’
सहकारीको मूल मर्मलाई नै कुल्चिएर शुभलक्ष्मी सहकारीले गर्दै आएको कालोबजारी प्रति उनले आक्रोश पोखे । शेयर सदस्यलाई सहकारीले खोलेको पसलमा सस्तो हुनुपर्ने उनको बुझाई छ ।
हरेक वर्ष हुने साधारण सभामा सहकारीले आफ्ना शेयर सदस्यलाई बोनस रकम घटाएर सहकारी पसलमा किनमेल गर्न कुपन वितरण गर्दै आएको छ । सहकारी पसलको उत्थानका लागि यसो गरिएको बताईन्छ ।
तर, उपभोक्ताले कुपन साट्न जादा सहकारी पसलमा चर्को मूल्यमा सामान किन्न बाध्य छन् । बाध्य पारिएको छ !?
कोरोना महामारीको मौका छोपेर व्यापारीले उपभोक्ता ठग्दै आएको कुरा बेला बखत सुनिदै आएको छ । अनुगमनका क्रममा प्रशासनले ठग व्यापारीलाई कारबाही गरेको घटना पनि छन ।
तर, गौरादहमा संचालित शुभलक्ष्मी सहकारी पसलले खानेतेलमा कालोबजारी गरेपनि यसप्रति सम्बन्धित निकायको आँखा पुग्न सकेको छैन ।