मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिको आयोजनामा २९९औं ” पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस” स्थानीय संघसंस्था सम्मिलित भई झापाको बिर्तामोडमा २०७७ पौष २७ गते भव्य रूपमा सम्पन्न गरियो ।
स्थानीय समाजसेवी भवानी प्रसाद ढकालको अध्यक्षतामा भएको सत्सङ्गमा प्रमुखवक्ताको रूपमा मौलिक जरोकिलो पार्टीका १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओली रहनु भएको थियो । पानसमा दिप प्रज्वलन, शान्तिपाठ, राष्ट्रियगान एवम् एकिकरणका महानायकहरूको सम्मानमा मौन धारण सहित शुरू भएको कार्यक्रममा बिर्तामोड नगर संयोजक अमित कुमार बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सचिव रोमा देवी निरौला, प्रदेश सदस्य उमाकान्त सिटौला, सल्लाहकार संयोजक बिष्णु प्रसाद उप्रेती, स्वकृयात्मक सदस्य तुलसा खरेल पाठक, लिलाराज न्यौपाने, स्थानीय युवा व्यक्तित्व सूर्य प्रसाद रिमाल आदिले वक्ताका रूपमा आफ्ना धारणा अभिव्यक्त गर्नु भएको थियो । उक्त सत्सङ्गमा मौलिक जरोकिलो पार्टीका केन्द्र देखी वार्ड समितिका सदस्यहरू सहित पत्रकार, प्रहरीका साथै नागरिकस्तरमा महत्वपूर्ण उपस्थिति रहेको थियो ।
देशको नेतृत्व लिएका राजनीतिक दलहरू बिदेशी प्रतिमान, दर्शन र सिद्धान्तको आधारमा संचालित भएकोले नेपालको अवस्था दिनानुदिन खस्कदै गएको परिप्रेक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एवम् उनका दिव्य उपदेश र उनको हिमवत्खण्ड एकिकरणको संकथन नेपाली जनता माझ झन बढेर गएको छ ।
१ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले मन्तव्यको क्रममा इमान्दार, सचेत र मौलिकताका पक्षधरहरूलाई राज्यराष्ट्र सिद्धान्तको छानोमा ओत लाग्न एवम् नेपाललाई आफ्नो गौरव, बिशेषता र मौलिकतामा फर्काउदै बिश्वको अग्रणी बनाउनका लागि साथ दिन गर्नु भएको सार्वजनिक आह्वानलाई उपस्थित सहृदयीजनहरूले सकारात्मक रूपमा लिदै हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।।