
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० बर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो गाउँले साथीभाइसँग घाँस काट्न जङ्गल पसेका उनलाई हात्तीले आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाउने जनाइएको छ । केही दिन देखि जलथलको चारकोशे जङ्गलबाट निस्किने जङ्गली हात्तीले त्यस क्षेत्रमा आतङ्क मच्चाउँदै आएका छन् । आहारको खोजीमा गाउँघर निस्किँदै आएका हात्तीले दर्जर्नौ घर भत्काइसकेको स्थानीयले बताएका छन् ।