
कोरोनाका कारण थलिएका दमकका होटल व्यवसायीहरु सातौं फुड फेस्टिबल आयोजनाको तयारीमा जुटेका छन ।होटल व्यवसायी संघ दमकको आयोजनामा यस बर्ष २३ फागुनदेखि २९ फागुन सम्म दमक फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । दमक बसपार्क नजिकै आयोजना गरिने सो फेस्टिबलमा विभिन्न जातजातीका खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको छ ।
संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार फेस्टिबल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
मुल समितिका अतिरिक्त उपसमितिहरुले आआफनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।
फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने बताइएको छ । फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ । बर्षेनी आयोजना गरिँदै आएका फेस्टिबलहरुमा जस्तै यस बर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरु आकर्षकका रुपमा रहने संयोजक न्यौपानेले बताए ।