
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्यमाथिको खेलवाड बन्द गर्न सरकारसँग माग गरेको छ। दैनिक कोरोना संक्रमण बढ्दै गएको तथा ससाना बालबालिकासमेत जोखिममा रहेको समयमा विद्यालय बन्द नगरेकोप्रति नेविसंघले सरकारको ध्यानाकर्षण गराएको हो।
सरकारको अकर्मण्यता र लाचारीपूर्ण व्यवहारले विद्यार्थीको स्वास्थ्य र भविष्यमाथि खेलवाड भइरहेको संघका अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दैनिक विद्यार्थीमा बढ्दो संक्रमण र संक्रमणकै कारण मृत्यु भइसक्दा समेत सरकार गम्भीर नहुनुले सरकारको नियतमै खोट देखिएको नेविसंघको भनाइ छ।
कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढिरहेको सन्दर्भमा सबै विद्यालय, विश्व विद्यालय, क्याम्पसलगायत शिक्षण संस्थामा स्वास्थ्य सावधानी र सतर्कताको व्यवस्था गर्नसमेत संघले माग गरेको छ।

संक्रमण जोखिम बढेको अवस्थामा केही दिन शिक्षण संस्था बन्द गरी बैकल्पिक पद्धतिमार्फत सिकाइ प्रक्रिया सुचरु गर्नुपर्ने माग समेत नेविसंघले गरेको छ।