
सुनन, म तिमीलाई पर्खिन्छु ल त्यहीं चोकमा जहाँ हामी
अन्तिम पटक भेटेका थियौं,
सुनन, म तिमीलाई पर्खिन्छु ल त्यहीं, जहाँ तिमीले मलाई
लुकेर अंगालेकि थियौ
सुनन, म तिमीलाई पर्खिन्छु ल त्यहीं सहरमा जहाँ हामीले
कत्ति रहर संगालेका थियौं।
बस् , तिमी फर्केर आइदिनु त्यही बाटो भएर जुन बाटो हुँदै
तिमीले मलाई छाडेर गएकि थियौ।
तिमी नलुकाउनु ल तिम्रो मनको एउटा कुनामा भएको
मायालाई, न झुक्काउनु ल आफ्नै भावनालाई
बस् कुनै दिन फुर्सद निकालेर सम्झिदिनु मेरो स्पर्शलाई,
मेरो मुहारको हर्षलाई अनि मेरो प्रेमको उत्कर्षलाई जुन म
पुनः तिमीसंग साट्नलाई बेचैन छु;
सुनन, म आँखा भरी आँसु अनि मनभरी आस लिएर
पर्खिन्छु ल
बस् ,तिमी फर्केर आइदिनु ती दिनहरु सम्झेर जब तिमी
मेरो मुस्कानमा मिसिने गर्दथ्यौ।
जति मन छ उति टाढा गइदिनु तिमी अहिलेलाई
चाहे फेरी अन्जान नै भइदिनु तिमी अहिलेलाई
नसम्झिनु ती पुराना यादहरुलाई, मेटाइदिनु हरेक
मनोभावहरुलाई
तर नबिर्सिनु ल त्यो मोडलाई अनि त्यो बिछोडलाई
बर्षौ पछि नै सहि एकचोटी फर्केर हेरिदिनु ल ती
गल्लीहरुमा जहाँ हामी हात समाउदै अघि बढेका थियौ;
सुनन, म छाला चाउरिन्जेल र सास रहुन्जेल तिमीलाई
त्यही गल्लीमा पर्खिन्छु ल
सुनन, म तिमीलाई पर्खिन्छु ल !!!