
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।
विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
खनाल र खड्का एयर अरेबिया, सुमित र धनबहादुर हिमालय एयरलाइन्स र विश्वकर्मा नेपाल एयरलाइन्सबाट विमानस्थल उत्रिएका थिए।
अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।
पक्राउ परेकालाई भन्सार कार्यालयमा पठाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।