
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
सेमिफाइनलमा फ्रेञ्च क्लब पिएसजीमाथि समग्रमा ४-१ गोलको जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो।
पहिलो खेलमा २-१ ले विजयी भएको सिटीले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो खेलमा २-० गोलको जित निकाल्यो।
सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो। यसअघि सिटीको च्याम्पियन्स लिगको उत्कृष्ट नतिजा सेमिफाइनलसम्म मात्र पुग्नु थियो।
मंगलबार सिटीलाई जित दिलाउने क्रममा दुवै गोल रियाद महारेजले गरे। उनले ११ मिनेटमा पहिलो गोल गरेका थिए भने ६३ मिनेटमा दोस्रो गोल गरे।
खेलमा पिएसजी ६९ मिनेटमा १० खेलाडीमा मात्र सीमित बनेको थियो। एन्जल डि मारियाले फर्नान्डिन्होलाई फल गरेपछि उनलाई सिधा रातो कार्ड दिइएको थियो।
अब उपाधिका लागि सिटीले आगामी २९ मेमा इंग्लिस क्लब चेल्सी वा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध खेल्नेछ।
चेल्सी र रियलबीचको सेमिफाइनलको दोस्रो खेल आज राति चेल्सीको मैदानमा हुँदैछ। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिएको थियो।