
बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ । उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा खेमसिंह भण्डारीको मृत्यु भएपछि मृतकको संख्या ६ जना पुगेको हो । यसअघि चालक तेजबहादुर बोहराको पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि दुर्घटनामा परेर ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो । मृतक ५ जना वडा नम्बर–६ कै रोडिदेवलका स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालक भने दशरथचन्द नगरपालिका वडा नम्बर ४ का हुन् । उनका अनुसार घाइते ४ जनालाई नै उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।